राजधानीको खल्लो भूमे पूजा ‘अर्को वर्ष कोरोना जितेर हर्सौल्लासले मलाउँला’

नेपाल मगर संघले दियो भूमे पर्व २०७७ शुभकामना

अठार मगरात क्षेत्रमा सदियौंदेखि मनाउँदै आएको सबैभन्दा ठूलो भूमे पर्वको रौनकले यतिबेला राजधानीको टुँडिखेल झुमिरहेको हुन्थ्यो।

विविध कारणले गाउँ जान नपाएका काठमाडौंमा बसोवास गर्ने रोल्पा, रूकुम र बाग्लुङ भेकका मगर समुदाय प्रत्येक वर्षको असार १ गते टुँडिखेलमा भेला भएर धुमधामले भूमे पर्व मनाउने गरेका थिए।

नेपाल मगर संघ केन्द्रीय समिति र भूमे पर्व प्रतिष्ठानले हरेक वर्ष काठमाडौंमा भूमे नाचको आयोजना गर्दै आएका थिए। तर यो वर्ष कोरोना महामारीको कारण सबै सास्कृतिक कार्यक्रमहरू रोकिएका छन्।

संसार भरीको मानव जातिको आ-आफ्नै मौलिक संस्कृतिक संस्कार रहेको भन्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगरले नेपालका आदिम कालका मगर जातिले मनाउने विभिन्न चाडपर्व मध्य भूमे पर्व महत्वपूर्ण र लोकप्रिय चाड भएको बताए।

‘गत साल जस्तै यो साल पनि भव्यताका साथ मगर समुदायले मनाउने योजना रहे पनि यो वर्ष कोरोना भाइरस महामारीले गर्दा स्थगित गर्नुपर्दा दुःखित छौं’, उनले भने, ‘असार १ गतेदेखि उद्घाटन भई हप्ता दिनसम्म धुमधामले नाच गान गरेर मनाउने भूमे पर्व यो साल औपाचारिक रूपमा मनाउन सकेनौ। तर विधि प्रक्रिया पुरा गर्न संसारभरका मगर समुदायलाई रितपुर्वक पुजा गर्न अह्वान गरेका छौ।’

अध्यक्ष नवीन रोकामगर, नेपाल मगर संघ, केन्द्रीय समिति


यो वर्ष कोरोना महामारीसँग सुरक्षित रहेर बस्न आग्रह गर्दै उनले अर्को वर्ष भूमे पर्व धुमधामले हाँसेर, रमाएर नाचगान गरेर मनाउने आशा ब्यक्त गर्दै नेपालका बिभिन्न ठाउँलगाएत संसारभर छरिएका मगर समुदाय सहित सबै नेपाली समुदायमा भूमे पर्व २०७७ सालको शुभकामना दिएका छन्।

उनले यो वर्ष औपचारिक रुपमा नाचगान गर्न नपाएकोमा निरास नमान्न विशेष अपिल गर्दै यो विषम परिस्थितिसँग जुध्न मगर संघ रातदिन खटेका बताए।

उनले सबै जात जाति भाषा भाषि र सबै समुदायका नेपाली जातिहरू एक ढिक्का भएर सहयोगको भावना सहित कोरोना महामारी विरूद्ध लड्न आग्रह गरे।

नेपाल सरकारले महामारी विरुद्ध चालेका सकारात्मक कदमप्रति नेपाल मगर संघ कृतज्ञ रहेको भन्दै सदैव सहकार्य गर्न तयार रहेको स्मरण गराए। उनले आउने साल महामारीमाथि विजय हासिल गरेर भब्यतासाथ भूमे पर्व मनाउने आशासहित शुभकामना दिएका छन्।

यसपल्ट भने महामारीको कारण टुँडिखेलमा विधिपूर्वक सामाजिक दूरी कायम गर्दै भेडाको वलि दिएर भूमे पूजा मात्रै गरेको उनले जानकारी दिए। यसपटक सबै किसिमका सास्कृतिक कार्यक्रम रोकिएको प्रतिस्ठानका सदस्य तथा मगर सांस्कृतिक अभियान्ता मदन रोका मगरले जानकारी दिए।

के हो भूमे पर्व

भूमे पर्व अठार मगरात क्षेत्रका मगर समुदायको  सबैभन्दा ठूलो चाड हो। उनीहरू प्रकृतिपूजक  हुन्, बर्खामा भूमे पूजा गर्छन्। भूमे पूजामा जमिनको पूजा गर्ने चलन छ। हिउँदेबाली भित्र्याएको खुसियालीमा र बर्खेबालीमा कुनै हानी  नहोस् भनेर भूमे  पूजा गरिन्छ। साथै बाढी पहिरो जस्ता दैवी प्रकोप नआओस् भनेर भूमेथानमा बलि पनि  चढाइन्छ।

नेपाली महिनाको असार १ गते भूमे  पूजा  गरिन्छ । गाउँ–ठाउँ हेरेर एक दिनदेखि एक सातासम्म भूमे पूजा गर्ने चलन छ।

गाउँ घरमा पर्वको तयारी र पूर्व अभ्यास करिब डेढ महिना अगाडिदेखि सुरू हुन्छ। पर्व सुरू हुनु एक दुइ दिन अघि स्थानियहरू नजिकको लेकमा फूल टिप्न जान्छन्। एक रात लेकमै बास बसि फूल टिपेर फर्किदा गीत गाउँदै, स्थानीय भाकामा नाच गान गर्दै गाउँ झर्छन्।

ठाउँ अनुसार भेडा, कुखुरा या सुंगुरको बलि चढाएर बल पूजा गरिन्छ, त्यसपश्चात बिधिवत रूपमा भूमे नाचगान सुरू हुन्छ। पर्व असार १ गतेदखि ३ दिनसम्म र कतै ५ दिनदेखि हप्ता दिनसम्म भूमे नाच्ने गर्छन्।

मगर खाम भाषी बाहुल्य भएको रूकुम (पुर्व) को भूमे गाउँपालिकाका सबै गाउँ, पुथा उत्तरगंगा गाउँपालिका, उत्तर पूर्वी रोल्पा जिल्लाको थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिकालगायत पश्चिम बाग्लुङको निसी, भल्कोट र बोबाङ क्षेत्रहरुमा भूमे पर्व नाचगान गरेर धुमधामले मनाईन्छ। पश्चिम रुकुमको सदरमुकाम खलंगा, दाङको घोराही, लिबाङ, काठमाडौंसहित मुख्य सहरहरुमा समेत यो पर्व मनाईन्छ। विश्वभरी छरिएर बसेका मगर समुदायले युरोप, बेलायत, अमेरिका, कोरिया, जापनलगायतमा पनि भूमे पर्व मनाउने गरिन्छ।

अभियान्ता मदन रोका मगरका अनुसार काठमाडौं टुँडिखेलमा उपत्यका भित्र बसोवास गर्ने मगर समुदायले ३ दिनसम्म धुमधामले मनाउने यो पर्व मनाउने गर्छन्।

काठमाडौंमा बसोबास गर्दै आएकी रूकुम पूर्व तक गाउँकी अञ्जनी र मोहनीसहित मगर पहिरनमा आएका १५ जना जति महिलाले विधिवत रूपमा भूमेको पूजा गरेका छन्। सधैको वर्षमा जस्तै यसपटक पनि भूमेमा रमाइलो गर्ने सोचेका उनीहरू नाचगान गर्न नपाएकोमा दुःखि देखिन्थे।

राजधानीमा २०७२ सालको भूकम्प र यो पालिसँगै २ पटक भूमे पर्व रोकिएको हो।

हेर्नुहोस् केही तस्बिरहरू

यो पनि हेर्नुहोस्

‘मैले मिस गरेको यो सालको भूमे पर्व’

प्रकाशित मिति: : 2020-06-15 17:37:46

प्रतिकृया दिनुहोस्