बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनले विक्षिप्त बनेकी भाउजु सुधा देवीको पनि निधन भएको छ।
सुशान्तको ३४ वर्षको उमेरमा आइतबार निधन भएको थियो।
सोमवार निधनको खबर पाएकी सुधाले अपराह्न मुम्बईमा जब सुशान्तको दाहसंस्कार हुँदै थियो तब प्राण त्यागिन्।
उनी बिहारको पूर्णिया जिल्लास्थित पैतृक गाउँमा बस्दै आएकी थिइन्।उनले देवरको आत्महत्याको खबरलाई सहन सकिनन्। उनी देवरकाे मृत्युपश्चात विक्षिप्त बनिन्। उनी डिप्रेशनमा गइन् र खाना खान छोडिन्।
भाउजु काकाको छोरा (दाई)की श्रीमती हुन्। छोराको मृत्युको शोकमा रहेको परिवार बुहारीको पनि मृत्यु भएपछि थप शोकमा परेको छ।
सुशान्तको सोमबार साँझ विले पार्लेको शवदाह गृहमा दाहसंस्कार गरिएको छ। अन्तिम संस्कारमा श्रद्धा कपुर, राजकुमार राव, निर्देशक अभिषेक कपुर, वरुण शर्मा, क्रिस्टल डिसूजा, विवेक ओबेराय, पूजा चोप्रा शामिल लगायतका कलाकार पुगेका थिए।
पोस्टमार्टम रिपोर्टले सुशान्तले आत्महत्या गरेको पुष्टि गरिसकेको छ। यद्यपि
प्रहरीले यस सन्दर्भमा सुशान्तका घनिष्ठ मित्रहरू रिया चक्रवर्ती र महेश शेट्टीलाई सोधपुछ गरेकाे थियाे।
यस्तै मुम्बई प्रहरीले परिवारका सदस्य र आफन्तसँग अनुसन्धानका लागि सोधपुछ गरेकाे छ। आत्महत्या हो वा अरु केही षड्यन्त्र छ भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले सुशान्तकी बहिनीको पनि वयान लिएको छ।
बहिनीका अनुसार सुशान्त पछिल्लो ६ महिनादेखि डिप्रेशनमा थिए। पछिल्लो एक सातायता उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनी सुशान्तको घर आएर २ दिन बसेर गएकी थिइन्।
हालै औषधि लिन पनि छोडेका थिए। उनको भनाईअनुसार डिप्रेशनकै कारण सुशान्तले आत्महत्या गरेको देखिन्छ।