राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ माथिको छलफलमा भाग लिँदै सांसदहरुले बजेटमा राष्ट्रको आवश्यकता र प्राथमिकता स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्।
शिक्षा, स्वास्थ्य, संस्कृति र कृषि क्षेत्रमा सन्तुलितरुपमा बजेट विनियोजन हुन नसकेको उनीहरुको टिप्पणी छ। बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य डा वेदूराम भुसालले कोभिड –१९ को महामारीको समयमा आएको मुलुकको बजेट समग्रमा सन्तुलित र मार्गनिर्देश दिने खालका विषय परे पनि संस्कृति रुपान्तरण गर्ने कार्यक्रम नरहेको बताए।
उनले मन्दिरको मर्मत, सम्हार र संरचना निर्माणमा बजेट केन्द्रित भएको भन्दै आलोचना गरे। उनले बजेटमा २०३ मन्दिर निर्माणमा बजेट विनियोजन गरेको पाइएको बताए।
‘आजको सरकारले मन्दिर बनाउने हो कि विद्यालय? गम्भीर प्रश्न खडा भएको छ। धर्मप्रति मेरो सम्मान नै छ तर आजको प्राथमिकता के हो?’ भुसालले प्रश्न गरे। धर्म वैयक्तिक स्वतन्त्रताकमो विषय भएकाले विद्यालय निर्माण र शैक्षिक विकास आजको आवश्यकता हो, भने।
उनले नीति तथा कार्यक्रममा एक प्रदेशमा एक पर्यटन गन्तव्य बनाउने उल्लेख भएकोमा पर्यटन क्षेत्रको बजेट शीर्षक हेर्दा फलानो प्रदेशको फलानो पर्यटन गन्तव्य यो हो भनेर फेला पार्न नसकेको बताए। सिद्धान्त र व्यवहारमा फरक देखिएको र विगतमा गरिएका काममा समेत बजेट रोकिएको भूषालको भनाइ छ।
उनले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ र शहीद गङ्गालाल श्रेष्ठको जन्मस्थल रामेछापको भँगेरीमा बन्न लागेको स्मृति पार्क र बिपी कोइरालाको पुख्र्यौली थलो सिन्धुलीको दुम्जामा बन्न लागेको स्मृति पार्कमा समेत बजेट नछुट्याइएको भन्दै आपत्ति जनाउनुभयो। भुसालले थपे, ‘त्यही नेताले यो मुलुकलाई यहाँसम्म ल्याएको हो, यस प्रकारको अपनामानलाई अत्य गर्नुपर्छ, राष्ट्रका निम्ति योगदान गर्ने नेताहरुको सम्मान विश्वभरी हुन्छ।’
नेकपाकै अगमप्रसाद वान्तवा राईले पूर्वको चिया र अलैँची खेतीको विकासमा विदेशी संस्थाको भर पर्नुपर्ने अवस्था रहेकाले सरकारको लगानी जरुरी रहेको बताए। पूर्वी नेपालमा उत्पादन गरेको चिया भारतले आफ्नो लेभल लगाएर विदेश निर्यात गर्दै आएकाले नेपालमा नै लेभल लगाएर निर्यात गर्नेतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराए।
नेकपाका कोमल वलीले सीमा विवादमा नेपालले गरेको वार्ता प्रस्तावलाई भारतले टार्दै गरेको विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।