अंग्रेजले लुटेको दार्जिलिङ, कांकडासम्मको भूभाग भारतले नेपाललाई फिर्ता दिनुपर्छ: दिनानाथ शर्मा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले अंग्रेज साम्राज्यले लुटेको दार्जिलिङ, कांकडासम्मको भूभाग भारतले नेपाललाई फिर्ता दिनुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा बिहीबार भाग लिँदै नेता शर्माले उक्त कुरा बताएका हुन्।

‘चेलीबेटीको नाता हो, डोलीबेटीको नाता हो भारतका नेताहरुले भन्नुहुन्छ। यदि त्यसो हो भने र भारत साँच्चै असल मित्र भए अंग्रेज सम्राज्यले लुटेको नेपाली भूभाग नेपाललाई नासोका रुपमा फिर्ता गर्नुपर्छ,’उनले भने।

नेता शर्माले तत्काल कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान माग गरे। 

स्वयं केही भारतीय नेताहरुले समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको बताइरहेका बेला भारत सरकारले नेपालको भूमिबाट भारतीय सेना फिर्ता लैजानुपर्नेमा शर्माको जोड छ। यो नेपालीहरुको चाहना भएको समेत उनले बताएका छन्

नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट्ने विषयमा देखिएको राष्ट्रिय एकताप्रति खुसी प्रकट गर्दै उनले यो राष्ट्रिय एकता निरन्तर कायम रहने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2020-06-18 12:06:43

प्रतिकृया दिनुहोस्