बेसारले उपचार मात्र हैन बिषको पनि काम गर्छ, तर एउटा एन्टिबायोटिक हो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले रोगप्रतिरोधी क्षमता वृद्धिमा बेसार उपयोगी रहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन्। 

उनले भने,‘ हामीले इम्युन सिष्टम कसरी बढ्छ भनेर कुरा गर्दा त्यसलाई उडाएका पनि छन्। मैले सडकमा पनि देखेँ। कतिपयले बेसार खाएर निको हुन्छ ? बेसार जे को लागि पनि निको हुन्छ? भनेर पनि निस्किए। बेसार उपचार मात्र हैन कहिलेकाहिँ बिषको पनि काम गर्छ। तर एउटा एन्टिबायोटिक, औषधीय गुणको तत्व हो बेसार भनेको। त्यसैले कुनै चिजको साइड इफेक्ट हुन्छ, कतिबेला खान हुन्छ कतिबेला हुँदैन भन्ने हुन्छ। बेसार पनि कुनै कुनै अवस्थामा खान हुँदैन। रत्तअल्पता भएको छ, जण्डिस भएको छ भने बेसार खान हुँदैन।  रोगी, सुत्केरी महिलाले बेसार खान हुँदैन। आइरन, रगतको कमी छ भने बेसार खान हुँदैन। अप्रेशन गर्नुछ भने ७२ घण्टा अगाडिदेखि बेसार खान हुँदैन।’

उनले बेसारले रगत पातलो बनाउने काम गर्ने पनि बताए। उनले ठीक ढंगले भनेको कुरालाई पनि नेपालमा उडाउन खोज्ने प्रवृति बढेको उनले गुनासो गरे। 

‘सरकारले कोरोना रोकथामका लागि मास्क प्रयोग गर्न सिकाएको छ, साबुन पानीले हात धुन सिकाएको छ, साबुन नभएको ठाउँमा तातोपानीले हात धुन सिकाएको छ। कतिपय बुज्रुक हुँ भन्नेले त्यसलाई उढाएका पनि छन्,’ उनले भने। 

प्रकाशित मिति: : 2020-06-18 15:19:54

प्रतिकृया दिनुहोस्