सात वर्षपछि श्रीसान्त क्रिकेट मैदानमा फर्किदै

भारतीय क्रिकेट टिमका पूर्वतीब्र बलर एस श्रीसान्त ७ वर्षपछि पुनः क्रिकेट मैदानमा फर्किने भएका छन्। उनलाई केरल क्रिकेट संघले टिममा पुनः स्थान दिएको छ। 

संघका अनुसार श्रीसान्तले फिटनेश प्रमाणित गर्नुपर्ने छ। उनले फिटनेश पास गरेको खण्डमा उनी सेप्टेम्बरदेखि खेल्दै गरेको उनको प्रशंसकले देख्न पाउने छन्। श्रीसान्त सन् २०१३ मा आइपीएलमा म्याच फिक्सिङको आरोपमा सात वर्षका लागि प्रतिबन्धित भएका थिए। केरल रणजी टिमका प्रशिक्षक टिनु योहननले पनि यस कुराको पुष्टी गरेका छन्। 

सन् २०१३ को मेमा दिल्ली पुलिसले म्याच फिक्सिङको आरोपमा श्रीसान्तसहित राजस्थान रोयल्सका दुई खेलाडी अजित चण्डाली र अंकित छवनलाई पक्राउ गरेको थियो।

 यसपछि तीन जनालाई नै भारतीय क्रिकेट बोर्डले प्रतिबन्ध लगाएको थियो। यसविरूद्ध श्रीसान्तले लामो कानुनी युद्ध लडेका थिए। जसमा २०१५ मा विशेष अदालतले उनलाई आरोपबाट मुक्त गरेको थियो।

 सन् २०१८ मा पनि केरल उच्च अदालतले उनको आजीवन प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। तर, २०१९ मा सर्वोच्च अदालतले उनको आरोपलाई यथावत राख्ने निर्णय ग¥यो र प्रतिबन्ध कम गर्न भारतीय क्रिकेट बोर्डलाई आदेश दियो। उनीमाथि लागेको आजीवन प्रतिबन्धको आरोप छोट्याउँदै सात वर्षमा झारिएको थियो। 

 श्रीसान्त पनि आफूले फिटनेश प्रमाणित गर्ने बताएका छन्। ‘म केरल क्रिकेट संघप्रति ऋणी छु’, उनले भने। श्रीसान्तले २७ टेस्टमा ८७ विकेट लिएका थिए। उनले एकदिवसीयमा ७५ विकेट लिएका थिए। उनी सन् २००७ मा टि–२० र २०११ मा एकदिवसीय विश्व कप जित्ने भारतीय टिमको सदस्य पनि हुन्।

प्रकाशित मिति: : 2020-06-18 15:47:54

प्रतिकृया दिनुहोस्