भारत–चीन तनावबारे अमेरिकाले दियो यस्ताे प्रतिक्रिया

चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक प्रतिक्रिया सार्वजनिक गरेको छ। अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गर्दै भारतीय सैनिकको निधनप्रति समवेदना व्यक्त गरेका छन्।

माइक पोम्पियोले भनेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण भएको निधनमा भारतका बासिन्दाहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। शोकाकुल मृतक सैनिकका परिवार, आफन्त र प्रियजनलाई स्मरण गर्दछौँ।’

भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार दुवै देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फको क्षतिको विवरण भने सार्वजनिक भएको छैन।

भारत र चीनका बीच तनाव जारी रहेका बेला अमेरिका चीनसँग आफ्नो सम्बन्ध सुधारको प्रयासमा पनि जुटेको छ। बुधबार अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका शीर्ष नेता यांग जिचीसँग सात घण्टा बैठक गरेका छन्।

अमेरिका र चीन दुवै देश तनावलाई थप बढ्न दिन नचाहेको रुपमा पनि यो बैठकलाई लिइएको छ। चीनले यो छलफललाई रचनात्मक भनेको छ।

यांगले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङमा दखल नदिन भनेका छन्। 
 

प्रकाशित मिति: : 2020-06-19 08:43:38

प्रतिकृया दिनुहोस्