भारतमा नेपालको झण्डा जलाएको विरोधमा वीरगन्जमा प्रदर्शन, २ जना पक्राउ

भारतमा नेपालको झण्डा जलाएको विरोधमा आइतबार वीरगञ्जमा प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरी २ जनालाई नियन्त्रणमा लिएको छ ।

जनता समाजवादी पार्टीको मुस्लिम विभाग केन्द्रीय कार्य समितिको आयोजनामा भएको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पार्टीको महानगर कमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई नियन्त्रणमा लिएको हो। उनीहरु दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

वीरगञ्जको मालपोत चोकबाट सुरु भएको बिरोध प्रदर्शन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभा सकिने बेला प्रहरीले हस्तक्षेप गर्दा धकेलाधकेल भएको थियो। त्यसपछि प्रहरीले महानगर अध्यक्ष सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

र्‍यालीमा सहभागिहरुले झण्डा हाम्रो शान हो, झण्डा हाम्रो पहिचान हो, नेपाल आमा जिन्दावादलगायतका नारा लगाएका थिए।

नेपालले लिपुलेक, लिम्पुयाधारा र कालापानीसहितको नक्सा जारी गरेपछि त्यसको विरोध गर्दै भारतको प्रतापगढमा आँल इंडिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीनका नेता कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो अहिले भाइरल भइरहेको छ।

सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा नेपालको झण्डा जलाएर दुई देश बीचको सम्बन्ध थप बिगार्न लागेको भन्दै उनीहरु विरुद्ध प्रदर्शन भएको हो ।

प्रकाशित मिति: : 2020-06-21 15:52:58

प्रतिकृया दिनुहोस्