अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यासँगै उनका नजिकका साथि मानिएकी रिया चक्रावर्तीविरुद्ध मुद्धा दर्ता गरिएकाे छ।
सुशान्तलाई आत्महत्या गर्नका लागि बाध्य पारेको आरोपमा शनिबार बिहार अदालतमा उनीविरुद्ध दुरुत्साहन मुद्दा दर्ता गरिएकाे हाे ।
मुजफ्फरपुरवासी कुन्द कुमारले चक्रावर्तीविरुद्ध उजूरी दिएका हुन्। २४ जुनमा यस विषयको सुनुवाई हुनेछ।
१४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा सुशान्त मृत भेटिएका थिए।
रियाविरुद्ध सुशान्तलाई आर्थिक र मानसिक रुपमा शोषण गरेको आरोप लागेको छ।
मुम्बई प्रहरीले पनि उनीसँग बयान लिइसकेको छ र प्रहरीले रियासहित १५ व्यक्तिको बयान रेकर्ड गरेको छ।
प्रहरीसँगको बयानमा रियाले आफु सुशान्तसँग डेटिङमा रहेको स्वीकार गरेकी छिन्।
यसअघि स्थानीय अधिवक्ता सुधिरकुमार ओझाले दुरुत्साहनकै आरोपमा बलिउडका चर्चित सेलिब्रेटीहरु सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जय लिला भन्साली र एकता कपूरविरुद्ध उजूरी गरेका थिए।
यी ठूला कलाकारहरुले सुशान्तको करियर डुबाउने र उनलाई नयाँ स्टार बन्नबाट रोक्ने प्रयास गरेको उनको आरोप थियो।
अधिवक्ता ओझाकाअनुसार सुशान्तलाई ७ वटा फिल्मबाट निकालिएको थियो भने उनका केही फिल्मलाई रिलिज हुनबाट रोकिएको थियो।
प्रहरीले यस विषयमा छानविन गरिरहेको छ।