राष्ट्रपति ट्रम्पले आफ्नै भतिजीको 'टु मच एन्ड नेभर इनफ' रोक्न सक्लान् त ?

अभिव्यक्ति स्वतन्त्रताको प्रतीक मानिने अमेरिकाका राष्ट्रपति नै पुस्तक प्रकाशनमा प्रतिवन्ध लगाउन अदालत गुहारिरहेका छन्। त्यो पनि एकपटक हैन, पटकपटक। 

झट्ट सुन्दा अचम्म लागे पनि अब यो अचम्मको विषय रहेन। अमेरिकाका ४५औं राष्ट्रपति डोनल्ड जे. ट्रम्पले एक किसिमको अचम्मलाई अर्को किसिमको यथार्थमा परिणत गरिदिएका छन्। आम अमेरिकीलाई पनि अचम्मित पार्दै राष्ट्रपति ट्रम्प वितेका दुई सातायता दुई दुईपटक आफूमाथि लेखिएका पुस्तक प्रकाशनमा प्रतिबन्ध लगाउन अदालत पुगे। भलै यी दुबै मुद्दामा उनी आफै वादी छैनन्, एउटामा उनको न्याय विभाग वादी थियो, अर्कोमा भाइ रोबर्ट ट्रम्प वादी बनाइएका छन्।

यी दुई परिघटनामध्ये पहिलोमा राष्ट्रपति ट्रम्पले आफ्नै  पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको पुस्तक ‘द रूम ह्वेर इट ह्यापेन्ड, अ ह्वा्ईट हाउस मेमोयर ‘ प्रकाशन गर्न नदिन प्रयत्न गरे। यसका लागि उनले आफ्नो न्याय विभागलाई मुद्दा हाल्न लगाए। तर, अदालतले पुस्तक प्रकाशनमा रोक लगाउनुपर्ने पर्याप्त कारण पेश गर्न नसकेको भन्दै ट्रम्पको चाहनाविरूद्ध फैसला गरिदियो। अदालतको प्रष्ट संकेत थियो, यो वा त्यो वहानामा अमेरिका पुस्तक प्रकाशनमा प्रतिवन्ध लगाउने मुलुक हुन सक्दैन। स्ट्याचु अफ लिबर्टीको लाज जोगाउनु पर्छ।'

फैसलापछि जुन २१ मा जोन बोल्टनको पुस्तक बजारमा आयो। पुस्तक यति 'हट केक' भयो कि बजारमा आएको ४८ घण्टामै पहिलो संस्करण बिक्री भैसकेको प्रकाशकले विज्ञप्ती जारी गर्‍यो। ट्रम्पले बोल्टनलाई १७ महिना आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार राखेर फायर गरिदिएका थिए। त्यसपछि ट्रम्पसँग तिक्ततापूर्ण सम्बन्ध रहेका बोल्टनले पुस्तकमा ट्रम्पले दोस्रो कार्यकालका लागि चुनाव जित्न चीनका राष्ट्रपति शीसँग सहयोग मागेको लगायतका विवादास्पद विषय खुलासा गरिदिएका छन्।

पुस्तक प्रकाशन पहिले नै अमेरिकाका मूलधारका पत्रिकामा आलेखमा रूपमा पुस्तक अंश प्रकाशित भएका थिए। ती आलेखमा ट्रम्पको चुनावी चाइना कार्डको पर्दाफास भएको थियो। यसले उनको चुनावी क्याम्पेनलाई गहिरो धक्का मात्र पुर्‍याएन, चुनावी मूल एजेण्डा नै सिफ्ट गर्नुपर्ने रक्षात्मक स्थितिमा पुर्‍याइदियो। 

बोल्टनको पुस्तकको विलोम परिवेगसँग जुधिरहेकै बेला ट्रम्पका लागि अर्को 'पुस्तक संकट' आइलाग्यो । उनकी आफ्नै भतिजी मेरी ट्रम्पले लेखेको पुस्तक 'टु मच एन्ड नेभर इनफ:  हाव माइ फ्यामिली क्रेटेड वर्ल्ड'स मोस्ट डेन्जरस म्यान' जुन २८ मा बजार आउने मिति प्रकाशकले तोकिदियो। शीर्षकले नै पुस्तकको गुदी बताउने अर्थमा यो पुस्तक ट्रम्पका लागि अर्को घातक प्रहार हुने देखिएको छ। पुस्तक बजारमा आए उनको राष्ट्रपति चुनावी अभियान अरू संकटमा धकेलिने सम्भावना बढेपछि ट्रम्प थप आत्तिएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्प यतिबेला आफ्नै भतिजी मेरी ट्रम्पको पुस्तक प्रकाशनमा रोक लगाउन अदालत पुगेका छन्। आफूलाई 'वर्ल्ड'स मोस्ट डेन्जरस म्यान' भन्दै भतिजी मेरीले लेखेको पुस्तक 'टु मच एन्ड नेभर इनफ:  हाव माइ फ्यामिली क्रेटेड वर्ल्ड'स मोस्ट डेन्जरस म्यान' जुन २८ मा प्रकाशन हुने भएपछि उनी आफ्ना भाइ रोबर्टमार्फत् अदालतको शरणमा पुगेका हुन्। राष्ट्रपति ट्रम्पको दाबी छ, 'आफ्नै जेठो दाजु फ्रेड जुनियरकी छोरी मेरीलाई पुस्तक प्रकाशन गर्ने अधिकार नै छैन।' यसअघि आफ्नै पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तक प्रकाशनमा रोक लगाउन न्याय विभागमार्फत् अदालत पुगेकोमा उनलाई निराशा हात लागेको थियो। 

त्यसैले अहिले उनी यो पुस्तक प्रकाशनमा रोक लगाउन जोडबलमा साथ अदालतको ढोका ढकढकाउन पुगेका छन्। यसका लागि उनले आफ्ना भाइ रोबर्ट ट्रम्पलाई अगाडि सारे।तर, मुद्दाको प्रतिनिधित्व भने ट्रम्पका वकीलले गरिरहेका छन्। रोबर्टले मेरीले पुस्तक लेख्नै नपाउने कागजमा सही गरिसकेको दावी गर्दै पुस्तक प्रकाशनमा रोक लगाउन माग गरे। उनले यसलाई पारिवारिक विषय भनेर थप विवरण बाहिर ल्याउन इन्कार गरेका छन्।

तर, मेरीका वकिलले भने त्यसको प्रतिवाद गर्दै उनले कुनै त्यस्तो कानुनी कागजमा हस्ताक्षर नगरेको बताएका छन्। उनले अगाडि भनेका छन्, 'यो परिवारको कुरै हैन, यो त पुस्तक प्रकाशन गर्न पाउँने लेखकीय स्वतन्त्रताविरूद्धको कदम हो। यो अमेरिकालाई सुहाउने कुरै हैन।'

मेरी ट्रम्पका दाजु फ्रेड ट्रम्प जुनियरकी छोरी हुन्। उनका पिताको अत्याधिक मदिरापानका कारण ४४ वर्षमै उमेरमा १९८१ मा निधन भएको थियो। मेरी र उनका भाइ फ्रेड -III ले आफ्नो स्वर्गीय बाबुको सम्पतिको हिस्साका लागि लामो समयसम्म काका ट्रम्प र परिवारका अन्य सदस्यविरूद्ध मुद्दा लडेका थिए। उनीहरूले आफ्ना हजुरबुबा फ्रेड सिनियरबाट राष्ट्रपति ट्रम्पले ४०० मिलियन अमेरिकी डलर एकलौटी रूपमा जालसाजी गरेर हत्याएको आरोप लगाएका थिए। 

क्लिनिकल साइकोलोजीमा विद्यावारिधि गरेकी मेरी एक व्यावसायिक कोच हुन्। उनी अहिले ५५ वर्षकी भइन्। 

मेरी सुरूदेखि नै डोनल्ड ट्रम्पसँग रूष्ट छिन्। उनी डोनल्डकै कारण ट्रम्प परिवार तहसनहस भएको धारणा राख्छिन्। 

राष्ट्रपति ट्रम्पका विरोधी देश भित्र र बाहिर त छन् नै, परिवारभित्रै पनि प्रवल रूपमा छन् भन्ने यो एक तथ्य हो। अदालतमा पुगिसकेको यो मुद्दाको निर्णय काका ट्रम्पको पक्षमा जान्छ कि भतिजी ट्रम्पको पक्षमा ?, त्यसका लागि भने अब केही दिन पर्खनुपर्ने भएको छ। 

तर, यसले एउटा गम्भीर प्रश्न भने जन्माएको छ- अभिव्यक्ति स्वतन्त्रताको प्रतीका मानिने अमेरिकाका राष्ट्रपतिलाई पुस्तक प्रकाशनमा प्रतिवन्ध लगाउन बाराम्बार अदालत धाएको सुहाउँछ ?  के यसरी नै स्वतन्त्रताको प्रतिमूर्ति स्ट्याचु अफ लिबर्टीको लाज बचाउन सकिएला ? 

यी प्रश्नहरूको सपाट उत्तर अहिले नपाइए पनि आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको परिणामले सांकेतिक रूपमा दिन सक्ला कि ? अमेरिका त्यसैको व्यग्र प्रतीक्षाको मुड बनाइरहेजस्तो देखिदैछ। 

प्रकाशित मिति: : 2020-06-25 09:34:06

प्रतिकृया दिनुहोस्