कांग्रेसका सहमहामन्त्रीकाे प्रश्न: बेसारले कोरोना ठिक हुने भए महिनौंसम्म किन लकडाउन गरेको ?

कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले कोरोनाको महामारी बेसारले नियन्त्रण गर्ने भए किन महिनौंसम्म लकडाउन गरेको भन्दै सरकारलाई प्रश्न गरेका छन्। 

शुक्रबार परासीको प्रतापपुर गाउँपालिकाका अध्यक्षको शोकसभालाई सम्बोधन गर्दै सहमहामन्त्री महतले उक्त प्रश्न गरेका हुन्।

‘महिनौंसम्म लकडाउन गरेर जनतालाई दुःख दिने अनि बेसार खाए कोरोना लाग्दैन भनेर भ्रम फैलाउने?,’उनले प्रश्न गरे,‘ यो भन्दा बढी प्रधानमन्त्रीको निकम्मा पन के होला र?

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद जस्तो गरिमामय ठाउँमा हास्यास्पद टिप्पणी नगर्न पनि आग्रह गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गर्दै आएका छन्।

तर स्वास्थ्यकर्मीहरुले याे कुरालाई पुष्टि गर्ने कुनै आधार नभएकाे भन्दै आलाेचना गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-06-26 15:52:52

प्रतिकृया दिनुहोस्