अनिकाल निम्त्याउने सलह नेपालमा प्रवेश, कृषि मन्त्रालयले डाक्यो बैठक

नेपालमा सलह फट्याङग्रा प्रवेश गरेको छ। शनिबार बिहान ७ देखि ८ बजेको समयमा भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

‘आज बिहान रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले हामीलाई खबर गर्नुभएको हो,’ कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले भने, ‘हिजोअस्ती दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले उक्त फट्याङग्रालाई भारतको विहार राज्यको विभिन्न सीमाहुँदै नेपालमा ल्याइ पुर्‍याएको हो।’

उनले सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी गराइएको बताए। ‘केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका बिज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट यो फट्याङग्राको टाउको, पेट, एन्टीना, आकार-प्रकारको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ। यसबारे छलफल गर्न आज दिउँसो १ बजे मन्त्रालयले जुम मिटिङ राखेको छ,’ उनले भने।

यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो। 

यो फट्याङग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो। भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो।

सलह फट्याङ्ग्रा वर्गको कीरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ।

सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो। यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्‍याउँछ।

सलह कीरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको छ।

यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ।

यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ। जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2020-06-27 12:31:26

प्रतिकृया दिनुहोस्