स्थानीय तह निर्वाचन

गठबन्धनमाथि एमालेको धावा, तर किन बन्यो तेस्रो शक्ति? 

दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी दश स्थानीय तह रहेका छन्। दशै पालिकामा वैशाख ३० गते निर्वाचन भयो। जसको परिणाम पनि आइसकेको छ।

सत्तारुढ गठबन्धनको निर्णयअनुसार दाङका सबै पालिकामा गठबन्धन गरेर निर्वाचनमा जाने भन्ने थियो। तर अन्तिमसम्म पनि गठबन्धन दलहरुबीच भागबण्डा मिल्न नसकेपछि ३ पालिकाबाहेक अन्य पालिकामा सबै दल एक्ला–एक्लै चुनावमा होमिए।

घोराही र तुलसीपुर उपमहानरपालिकासहित बंगलाचुली गाउँपालिकामा सत्तारुढ दलहरुबीच गठबन्धन भयो। यद्यपी, घोराहीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा पार्टीबीच गठबन्धन हुँदा एकीकृत समाजवादी पार्टी भने बाहिरियो।

तुलसीपुरमा चारै दलहरुबीच गठबन्धन भयो। यी दुई उपमहानगरपालिकासहित अन्य सबै पालिकामा एमाले एक्लै चुनावमा होमियो। अघिल्लो ०७४ मा ६ पालिकामा जित निकालेको एमालेले यस पटक पनि सबै पालिकामा जित निकाल्ने चेष्टा गरेको थियो।

तीन पालिकामा गठबन्धन गरेका दलहरुले आफूहरुले जित्नेमा कुनै शंका नै नभएको खुबै दाबी गरे। अन्य पालिकामा एक्ला–एक्लै चुनावमा होमिएका दलहरुले आफूले जित्ने दाबी स्वाभाविकै रह्यो।

निर्वाचनपछिको नतिजाले अघिल्लो पटकको निर्वाचनमा ६ पालिकामा जित निकालेको एमालेले ४ पालिका गुमाउन पुग्यो। बबई, दंगीशरण, गढवा गाउँपालिका र लमही नगरपालिका एमालेले गुमायो।

अघिल्लो निर्वाचनमा तीन पालिका शान्तिनगर, राजपुर र राप्ती गाउँपालिकामा जित निकोलेको काँग्रेसले राप्ती गुमाउँदै माथिको दुई पालिकासहित बबई, दंगीशरण र लमहीमा पनि जित निकाल्यो।

माआवादी केन्द्रले अघिल्लो निर्वाचनमा बंगलाचुली गाउँपालिकामा मात्र जित निकालेको थियो। अहिले यस पालिकासँगै राप्ती र गढवा गाउँपालिकामा जित निकाल्यो।

यसरी पालिकाका हिसाबले अघिल्लो पटक पहिलो शक्ति भएको एमाले अहिले तेस्रोमा खुम्चिएको छ। काँग्रेस र माओवादी केन्द्रले सुधार गर्दै काँग्रेस पहिलो र माओवादी केन्द्र दोस्रो भएको छ।

गठबन्धनमाथि एमालेको धावा, तर किन बन्यो तेस्रो शक्ति?

दाङमा रोचक त यो छ कि एमालेले जहाँ गठबन्धनलाई हराउन सफल भयो, तर एक्लै चुनावमा होमिएको पालिकामा भने होर बेहोर्दै तेस्रो शक्तिका रुपमा खुम्चिन पुग्यो। घोराही र तुसीपुर उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई एमालेले फराकिलो मतले हरायो।

प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको छ। घोराहीमा गठबन्धनबाट नगरप्रमुखका उम्मेदवार माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३६० मतले पछि पार्दै एमालेका नरुलाल चौधरी विजयी भए। शर्माले २६ हजार ३६८ मत प्राप्त गर्दा चौधरीले ३१ हजार ७२८ मत प्राप्त गरे।

उप्रमुखमा गठबन्धनबाट काँग्रेसका भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै एमालेकी हुमा डिसी विजयी भइन्। डाँगीले ३० हजार ३५४ मत प्राप्त गर्दा डिसीले ३० हजार ४०३ मत प्राप्त गरिन्।

तुलसीपुरमा गठबन्धनबाट काँग्रेसका नगरप्रमुखका उम्मेदवार गेहेन्द्र गिरीलाई एमालेका टिकाराम खड्काले ३ हजार ६९१ मतले पछि पार्दै विजयी भए। गिरीले २७ हजार ७१७ मत प्राप्त गर्दा खड्काले ३१ हजार ४०८ प्राप्त गरे।

उपप्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतले पछि पार्दै एमालेकी स्यानी चौधरी विजयी भइन्। रानाले २१ हजार ६५ मत प्राप्त गर्दा चौधरीले ३० हजार ५९७ मत प्राप्त गरिन्।

यसरी गठबन्धनलाई हराउँदै फराकिलो मतले दुई उपमहानगरमा जित निकालेको एमाले बंगलाचुलीमा केही सदस्य जितेपनि लमही नगरपालिकामा भने सून्य भयो। जहाँ एक जना पनि कार्यपालिका सदस्य जित्न सकेन। ०७४ को निर्वाचनमा लमहीको प्रमुख एमालेले जितेको थियो।

जहाँ गठबन्धन थिएन। सबै पार्टी एक्ला–एक्लै चुनावमा होमिएका थिए। ०७४ मा जितेको बबई, दंगीशरण र गढवा गाउँपालिका पनि एमालेले गुमाउँदै दाङमा एमाले तेस्रो शक्तिका रुपमा खुम्चिएको छ।

पालिका प्रमुखका हिसाबले एमाले तेस्रो शक्ति देखिएपनि जनमतका हिसाबले भने आफूहरु पहिलो शक्ति भएको एमाले दाङका सचिव मनोहर बुढाथोकी दाबी गर्छन्। उनले आफूहरुको अपेक्षाअनुसार चुनावी नतिजा नआएको भन्दै आन्तरिक पार्टी एकता बलियो नभएकाले पहिले जितेको पालिका पनि गुमाउन पुगेको बताए।

पार्टीभित्र अन्तरघातले गर्दा पनि केही ठाउँमा हार बेहोर्नु परेको सचिव बुढाथोकीको भनाई छ। उनी अब हुने प्रदेश र संघीय चुनावमा भने आफूहरु पहिलो शक्ति नै हुने दाबी गर्छन्।

‘हामी दाङमा पहिलो शक्ति हो। देशभर रहेका ११ उपमहानगरमा एमालेले हार बेहोर्दा पनि दाङका दुई वटै उपमहानरमा गठबन्धनलाई पराजित गर्न सफल भएका छौँ,’ उनले भने, ‘कही ठाउँमा अनपेक्षित नतिजा आएको भएपनि त्यसलाई सुधार गर्दै आउने चुनावमा हामी पहिलो शक्ति हुन्छौँ।’

कहाँ चुक्यो गठबन्धन?

दाङको दुई उपमहानगरपालिकामा गठबन्धनले नराम्रोसँग हार बेहोर्यो। जुन गठबन्धन दलहरुले सायदै कल्पना गरेका थिएनन् होलान। ‘हार्ने भन्ने त कुनै ठाउँ नै छैन, हाम्रो जित भइसक्यो,’ घोराहीमा गठबन्धनबाट प्रमुखका उम्मेदवार शर्माले निर्वाचन अघि ढुक्कका साथ भनेका थिए।

काँग्रेस घोराहीमा ०७४ को निर्वाचनमा दोस्रो भएको थियो। तेस्रो भएको शक्ति माओवादी केन्द्र र केही भोट जनमोर्चाबाट थपिने आशाका साथ घोराहीमा प्रमुख र उपप्रमुखले हार बेहोर्नु पर्ने कुनै कारण देखेका थिएनन्।

तर गठबन्धन दलहरुले गरेको अंक गणितलाई नागरिकले भने फेल बनाइदिए। यसरी गठबन्धन असफल हुनुमा एमालेको संगठन बलियो हुनु र उम्मेदवार पनि एमालेले बलियो उठाउनु रहेको बताउँछन्, पत्रकार तथा राजनीतिक विश्लेषक सुशिल गौतम।

साथै गौतमले नरुलाल चौधरीलाई जातीय भोटको पनि सहयोग भएको, चौधरी त्यति धेरै विवादित पात्र पनि नभएकाले उनलाई बढी भोट आएको बताए। अर्कोतर्फ गठबन्धनबाट प्रमुखका उम्मेदवार बनेका शर्मा पार्टी संगठनभित्र बलियो पात्र रहेको तर जनतासँग त्यति धेरै भिज्न नसकेको कारणले गठबन्धनले हार बेहोर्नु परेको गौतमको बुझाई छ।

तस्तै दाङ जिल्ला माओवादी द्वन्द्व प्रभावित क्षेत्र रहेकाले काँग्रेस र माओवादीबीच पहिले देखिएको खटपटले गठबन्धनलाई कम मत आएको उनको उनले बताए।

उता तुलसीपुरमा गठबन्धनले हार्नुमा एमालेको संगठन नै बलियो रहेको गौतम बताउछन्। साथै प्रमुखमा विजयी भएका खड्का र उपप्रमुखमा विजयी भएकी चौधरी गठबन्धनका उम्मेदवार भन्दा निकै बलियो उम्मेदवार रहेकाले गठबन्धनले हार बेहोरेको उनको बझाई छ।

‘खड्का र चौधरीको जीवन संघर्ष जसरी सादगीका रुपमा चिनिएको छ। यसले पनि उनीहरुलाई जनताले मन पराएका हुन्,’ गौतम भन्छन्। अर्कोतर्फ गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार रहेका रानाको पार्टी एकीकृत समाजवादीको संगठन कमजोर हुनुले पनि हार बेहोर्नुमा थप सहयोग मिलेको उनको बुझाई छ।

१०० वडामा एमालेले जित्यो ४०

दाङका दश पालिकाका १०० वडा छन्। जसमध्ये एमालेले ४० वडामा जित निकाल्न सफल भएको छ। एमालेले घोराहीमा १३, तुलसीपुर १०, दंगीशरणमा ४, राप्तीमा ४, बबईमा ३, राजपुरमा २, गढवामा २, शान्तिनगरमा २ वटा वडा जितेको छ। बंगलाचुलीमा ११ वटा वडा सदस्य जितेको एमालेले लमहीमा भने एक सून्य भएको छ।

नेपाली काँग्रेसले ३७ वटा वडा जितेको छ। घोराहीमा ५, तुलसीपुरमा ५, लमहीमा ८, बंगलाचुलीमा ४, बबईमा ४, दंगीशरणमा ३, शान्तिनगरमा ३, राजपुरमा र गढवामा २–२ र राप्ती गाउँपालिकामा १ वटा वडा जितेको छ।

माओवादी केन्द्रले १९ वटा वडा जितेको छ। यस्तै बंगलाचुलीमा ४, गढवामा ४, राजपुरमा ३, तुलसीपुरमा ३, राप्तीमा २, लमहीमा १, घोराहीमा १ र शान्तिनगरमा १ वटा वडा जितेको छ। माओवादीले दंगीशरणमा एक वडा सदस्य जितेको भएपनि बबईमा भने सून्य भएको छ।

नेकपा एस र राजमोले राप्तीमा एक–एक वडा वडा जितेर अस्तित्व बचाए। त्यस्तै पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका बागी उम्मेदवारले शान्तिनगर २ र माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएकाले तुलसीपुर १६ मा स्वतन्त्रबाट जित निकाले।

प्रकाशित मिति: : 2022-05-27 20:10:00

प्रतिकृया दिनुहोस्