भ्रष्टाचारमुक्त र प्राज्ञिक विश्वविद्यालय बनाउँछु: उपकुलपति

मध्यपश्चिम विश्वविद्यालय (एमयु)का उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त र पूर्ण प्राज्ञिक बनाउनु आफ्नो पहिलो दायित्व भएको बताएका छन्।   

प्रजातन्त्रवादी प्राध्यापकहरुसँगको आजको भेटघाटमा उपकुलपति प्राडा सिंहले विश्वविद्यालयलाई भ्रष्टचारमुक्त नगराए यो गतिहीन भएर जाने बताए। 

विश्वविद्यालयलाई भ्रष्टाचारको दलदलमा फसाइएको तर्क गर्दै उनले विद्यमान विकृतिहरुलाई रोकेर प्राज्ञिक थलोका रुपमा विकास गर्ने बताए। उनले भने, ‘यसअघिका पदाधिकारीले अनधिकृत रुपमा मासिक रु ४२ हजारसम्म भत्ता बुझ्ने गरेको पाइयो। जनताको रगत पसिनाले बनेको विश्वविद्यालयमा अनियमितता रोकेर अब सार्वजनिक रुपमा लेखपरीक्षण गरिन्छ।’

 बैठक, सामान खरिद, विद्यार्थी भर्ना र चन्दादाताले दिएको पैसामा पनि भ्रष्टाचार भएको भन्दै उनले यस किसिमको अनियमितता बिल्कुल हुन नदिएर विश्वविद्यालयलाई पूर्ण प्राज्ञिक र अनुसन्धामूलक गतिविधिमा अघि बढाइने बताए। 

उपकुलपति प्राडा सिंहले आफ्नो पालामा खरिद गरेका सबै आवश्यक सामग्री र हरहिसाब पदावधि पूरा गर्दा सार्वजनिक गर्ने बताउँदै यसअघिका पदाधिकारीले सामान खरिद गरेर कर्मचारीको नाममा भिडाइदिएको र कार्यकाल पूरा गरेर जाँदा सामग्री पनि लिएर गएको आरोप लगाए। 

प्रदेश सरकार, स्थानीय सरकार, केन्द्र सरकार र दातृ निकायसँग समन्वय कायम गरी यसलाई उदाहरणीय विश्वविद्यालय बनाउन पवित्र उद्देश्य लिएको भन्दै उनले यसलाई पूरा गर्न प्राध्यापक कर्मचारी सबैको सहयोग अपरिहार्य रहेको औँल्याउनुभयो। योग्यता र क्षमताका आधारमा डिनलगायत पदाधिकारी नियुक्ति गर्ने, प्राध्यापक कर्मचारीको पदोन्नति, स्थायित्व र पेशागत सुरक्षाका निम्ति नीतिगत रुपमा सबैको सहकार्यमा अघि बढाइने उनको भनाइ थियो।
    
केन्द्रीय र आङ्गिक क्याम्पसहरुका समस्याबारे गहन छलफल गरी प्राज्ञिक कार्य अघि बढाउँदै अनुसन्धानमा केन्द्रित गरी समुदायको अपनत्व बढ्ने कार्य गर्ने सोच बनाएका उनले भने, ‘अहिलेको अवस्थामा अनलाइन शिक्षालाई व्यवस्थित गर्न थालिएको छ। यसका लागि विश्वविद्यालयले आवश्यक निर्णय गरी कार्यान्वयन गर्न लागिरहेको छ।’ 

उपकुलपति प्राडा सिंहले कर्णालीका जनताले विश्वविद्यालयबाट ठूलो अपेक्षा गरेको प्रस्ट्याउँदै उदाहरणीय विश्वविद्यालय निर्माण गर्ने अभियानमा गलत गर्ने जो कोहीलाई कारवाही गरिने र जनताको सपना पूरा गर्न दत्तचित्त भएर लाग्ने विश्वास दिलाए। भेटघाटमा प्राध्यापक सङ्घका पूर्व कार्यवाहक अध्यक्ष अमर रोकाय, करार प्राध्यापक सङ्घका अध्यक्ष डिबी गुरुङ, प्राध्यापकहरु लोकबहादुर ओली, खगेन्द्र अधिकारी लगायतको सहभागिता थियो।

प्रकाशित मिति: : 2020-06-27 21:45:48

प्रतिकृया दिनुहोस्