बेहुली लिन हिँडेका बेहुलालाई प्रहरीले पास नभएको भन्दै बिच बाटोमै रोकिदियो

सिराहबाट दुलही लिन झापा आएको माइक्रोबसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले सवारी पास नभएको भन्दै रोकीदिएको छ।

प्रहरीले बिचबाटोमै रोकेपछि बुधबार बेहुला र १८ जना जन्ती अलपत्र परेका हुन्।

भद्रपुर ५ बसपार्ककी मनिका यादवलाई लिन दुलहा बनेर भद्रपुर आउँदै गरेका सिराहा १५ का रोहित यादवलाई प्रहरीले साँझ ५ बजे देखि राजमार्गमा रोकेर राखेको हो।

‘सवारी पास बिना जान पाइन्नँ’ भन्दै प्रहरीले जन्ती सवार गाडीलाई घर फर्कन भनेको थियो। सिराहाबाट बेहुली लिन भद्रपुर हिँडेको जन्तीलाई झिलझिले प्रहरीले जताबाट आएको हो उतै फर्कन भन्दै अगाडि बढ्न नदिएको जन्तिले गुनासो गरेका छन्।

यति लामो बाटो पार गरेर झापा आइपुगेको जन्तीलाई प्रहरीले घर फर्कन दिएको दवाब सवारी चेकिङमा परेका अन्य कसैलाई पनि चित्त बुझेको थिएन। केही प्रत्यक्षदर्शी भन्दै थिए, ‘यस्तो व्यवहार गर्ने विवेकहिन ईन्सपेक्टर देखेकै थिएनौं।’

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले राजमार्गमा दुलहा सवार ना १ ज ८८८५ नम्बरको माईक्रो रोकेको हो। उनले जन्ती जस्तै केही टिप्पर पनि रोकेका थिए। तर प्रदेश गृहमन्त्री हिक्मत कार्की निकटका मानिसले फोन गरेपछि ठाकुरले टिप्पर छोडे पनि बेहुलाको गाडी नछोडेको एक प्रत्यक्षदर्शीले बताए।

‘पहुँच हुनेको सवारी पासै नभए पनि गाडीलाई न त चेकिङ हुन्थ्यो चेकिङमै परे पनि छाडियो तर निरिह सर्वसाधरणको विवाहको गाडी भने झिलझिले प्रहरीले छाडेन’, एक प्रत्यक्षदर्शीले भने।

जन्तीले जरीवाना तिरेर अगाडि जान गरेको आग्रहसमेत प्रहरी निरीक्षक ठाकुरले इन्कार गरेका थिए। ‘सवारी पास नभएको गाडी फर्काएर घरै जानुहोस्। लकडाउनमा विवाह गर्न पाईदैन,’ प्रहरी निरिक्षक ठाकुरले भनेको बेहुलाले जानकारी दिए।

बुधबार राति पौने १० बजेसम्म बेहुलासहितको टोली सडकमा अलपत्र नै थिए। आफूहरूले पटक पटक अनुरोध गर्दा पनि प्रहरी निरीक्षक ठाकुरले कुनै हालतमा नछाड्ने बताएपछि आफू मानसिक तनावमा रहेको बेहुला प्रदिप कुमार यादवले बताए।

सिराहा बजारबाट दिउँसो १२ बजे बेहुली लिन हिँडेको उक्त माईक्रो जन्ती लिएर भद्रपुर तर्फ आउँदै थियो। साँझ ५ बजे झापाको झिलझिलेमा आईपुगेपछि सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त माईक्रोलाई नियन्त्रणमा लिएको हो।

जन्तीमा सिराहाका एक स्थानीय पत्रकार पनि थिए। उनले पटक पटक अनुरोध गर्दा पनि प्रहरी निरीक्षक ठाकुरले कुरा सुन्न नमानेको गुनासो गरे।

त्यसपछि १ नम्बर प्रदेश प्रहरी प्रमुखलाई आफूहरूले पाएको दुःखबारे गुनासो गरेपछि मात्र राति १० बजे बेहुला सवार माईक्रो प्रहरीले छोडेको थियो।

आफूहरू पटक पटक अनुरोध गरे पनि प्रहरीले परिस्थिति नबुझ्दा ५ घन्टा सडकमा दुःख र मानसीक पीडा पाएको बेहुलाले बताए। विवाहको साइत राति सवा ९ बजेको थियो। तर प्रहरीले पटक्कै व्यवहारिकता नबुझेको उनीहरुको गुनासो थियो।

यता बेहुलीका दाजु रोहित यादवले प्रहरीले दुःख दिएको सुन्दा आफूहरू दुःखित भएको बताए।

‘पाँच जिल्ला पार गरेर आउँदा सवारी पास नचाहिने झापाको झिलझिलेमा चै सवारी पास भन्दै रोकिदिने?,’ उनले भने, ‘यो प्रहरीको दुःख दिने नियत मात्र हो।’

प्रकाशित मिति: : 2020-07-01 23:36:35

प्रतिकृया दिनुहोस्