ट्रम्पको बोली फेरियो, भने– मास्क लगाउँदा म राम्रो देखिन्छु

चौतर्फी आलोचना भएसँगै अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोलि फेरेका छन्। 

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढ्दै गएको र नियन्त्रणमा आउन सक्ने अवस्था तत्कालका लागि नदेखिएपछि ट्रम्पले मास्कको पक्षमा बोल्न थालेका हुन्। उनी लामो समय स्वास्थ्य विज्ञको सुझाव विपरित मास्कको विपक्षमा लगातार अभिव्यक्ति दिँदै आएका  थिए।

तर लगातार मास्क नलगाउने बताएका र मास्क लगाउनु पर्ने उनकै प्रशासनको आधिकारिक निर्देशनको पालना नगरेका ट्रम्पले अहिले आएर मानिसहरुको अति भिड भएको स्थानमा आफूले मास्क लगाउने बताएका हुन्।

एक शीर्ष रिपब्लिकनले उदाहरणका रुपमा मास्क लगाउन ट्रम्पलाई सुझाव दिएको भोलिपल्ट ‘फक्स न्यूज’सँग ट्रम्पले मानिसको अति भिड भएको स्थानमा मास्क लगाउने बताएका हुन्।

फक्स बिजनेश नेटवर्कसँग बुधबार कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘म जहिले पनि मास्कको पक्षमा छु। यदी म मानिसहरुको भिड हुने स्थानमा भएँ भने लगाउने छु।’

यसअघि ट्रम्प मास्क लगाएर सार्वजनिक रुपमा देखिएन चाहँदैनन् थिए। यस्तै उनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि मास्क लगाउनुपर्ने बाध्यकारी नियम पनि आवश्यक नरहेको बताउँदै आएका थिए। 

तर अहिले कुरा फेर्दै उनले आफूले यसअघि एकपटक मास्क लगाएको र त्यो मानिसहरुले नदेखेको दावी गरे। ‘एकपटक मास्क लगाएको थिए, तर त्यो कसैले देखेनन्,’ ट्रम्पले भने, ‘सार्वजनिक रुपमा मास्क लगाउन मलाई कुनै समस्या छैन र मास्क लगाउँदा म राम्रो देखिन्छु।’

तर यसअघि उनले सार्वजनिक रुपमा मास्क लगाउन नचाहने र मास्क लगाउँदा राम्रो नदेखिने बताउँदै आएका थिए। तर उनले मास्क लगाउनु पर्ने बाध्यकारी नियम लागु गर्न नहुने बताएका छन्।

‘अनिवार्य मास्क लगाउनु पर्ने बाध्यकारी नियम लागु गर्न हुँदैन,’ उनले भने, ‘म अझै पनि कुनै दिन कोरोना भाइरस आफै हराउने वा लुप्त हुने विश्वासमा छु। आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ। ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिँदै छन्।

तर बाइडेनले चुनावी र्‍याली नगर्ने बताएका छन्। डेलवरमा मंगलबार भएको पत्रकार सम्मेलनमा बाइडेनले कोरोना भाइरसको महामारी रहेसम्म चुनावी र्‍याली नगर्ने बताएका हुन्।

‘म डाक्टरहरुको निर्देशन पालना गर्दैछु, र यो मेरा लागि मात्रै होइन देशका लागि हो। आधुनिक इतिहासमा यो पटकको चुनावी अभियान सबैभन्दा असामान्य बनेको छ,’ उनले भने।

आउँदो नोभेम्बर ३ मा हुने चुनावलाई लिएर भएका पछिल्ला सर्वेक्षणमा पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा दोहोरो अंकले अघि रहेको देखिएको छ।

बाइडेनका प्रतिद्वन्दी राष्ट्रपति ट्रम्पले जुनको तेस्रो हप्ता ओक्लोहोमाको टल्सामा भएको चुनावी र्‍यालीमा अपेक्षा भन्दा निकै कम मानिसको सहभागिता भएको थियो। त्यसपछि ट्रम्पको चुनावी अभियानले नयाँ चुनावी सभाको घोषणा गरेको छैन।

बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न असफल भएको भन्दै ट्रम्प प्रशासनको आलोचना गर्दै आएका छन्।
 
अमेरिकामा पछिल्ला दिनमा संक्रमण तथा मृत्युदर लगातार बढिरहेको छ। अहिलेसम्म अमेरिकामा २६ लाख भन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये एक लाख २७ हजार भन्दा धेरैको ज्यान गएको छ।

 

प्रकाशित मिति: : 2020-07-02 07:44:33

प्रतिकृया दिनुहोस्