जरिवानाबाट झस्किए बोल्सोनारो, स्वीकृत गरे सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउनु पर्ने कानून

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने कानून स्वीकृत गरेका छन्।

कोरोना भाइरस महामारीको हालको ‘इपिसेन्टर’ दक्षिण अमेरिकी देश ब्राजिलमा यो कानून लागु भएसँगै अब नागरिकले सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ।

केही दिन अगाडि मात्रै ब्राजिलका न्यायाधीशले राष्ट्रपति बोलसोनरोलाई मास्क लगाउन आदेश दिएका थिए।

राजनीतिक र्‍यालीहरुमा सहभागी भएको बेला राष्ट्रपतिले मास्क नलगाएको उल्लेख गर्दै ती न्यायाधीशले उक्त आदेश नमानेमा दैनिक ३८७ अमेरिकी डलर जरीवाना तिर्नुपर्ने चेतावनी दिएका थिए। यो नेपाली रुपैयाँ ४६ हजारभन्दा बढी रकम हो।

पछिल्लोपटक विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति बोल्सोनारोले मास्क प्रयोग गरेको देखिएको छैन।

उनले चर्च, स्कूल, पसल तथा उद्योगमा पनि मास्क लगाउनु पर्ने व्यवस्थामा भने  बोल्सोनारोले ‘भिटो’ प्रयोग गरेका छन्। उनले यस्ता स्थानमा मास्क अनिर्वाय गर्दा त्यसले सम्पतीको अधिकार हनन् हुने तर्क प्रस्तुत गरेका छन्। 

यस्तै उनले जोखिममा रहेको समूहलाई सरकारले मास्क उपलब्ध गराउनु पर्ने तथा व्यवसायिक फर्महरुले तिनका कर्मचारीलाई मास्क दिनु पर्ने व्यवस्थामा पनि ‘भिटो’ लगाएका छन्।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको भए पनि गएको महिनादेखि नै ब्राजिलका शहरहरु खुला गर्न थालिएका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै बोल्सोनारो पनि मास्कको लगभग विपक्षमा छन्। कतिपय अवस्थामा राजनीतिककरण पनि भएको छ।

ट्रम्प र बोल्सोनारोले कोरोना भाइरसलाई सामान्य रुपमा लिँदै आएका थिए। बोल्सोनारोले निकै कम समय मात्रै मास्क लगाएका छन्।

केही हप्ताअघिमात्र राजीनामा दिएका त्यहाँका शिक्षामन्त्रीलाई मास्क नलगाएको पाइएपछि ३८७ अमेरिकी डलर जरीवाना तिराइएको थियो। महामारी फैलिएपछि मे ११ बाट ब्राजिलमा मास्क लगाउनै पर्ने प्रावधान ल्याइएको हो।

कोरोना संक्रमणको सूचीमा ब्राजिल अमेरिकापछिको सबैभन्दा बढी संक्रमित देश हो।

ब्राजिलमा अहिलेसम्म झण्डै १५ लाख मानिसमा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६१ हजार ५ सय भन्दा बढीको ज्यान गएको छ।

ब्राजिलमा बिहीबार मात्रै ४८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो। सोही दिन झण्डै १२ सयको ज्यान कोरोना भाइरसको संक्रमणबाट गएको थियो।
 

प्रकाशित मिति: : 2020-07-04 06:40:06

प्रतिकृया दिनुहोस्