नेकपा स्थायी कमिटी बैठक आज बस्दै, त्यसअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको संकट समाधानका लागि नेताहरु लागिपरे पनि ठोस उपलब्धी हासिल नभएको परिवेशमा शनिबार स्थायी कमिटि बैठक बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाडे बहुमतका बलमा हटाउने तयारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षको अडानका कारण नेकपा लगभग ‘फुट’ को संघारमा पुगेको छ।

प्रचण्ड र ओलीबीच शुक्रबार साढे तीन घण्टा लामो छलफल भएको थियो। पार्टी एकताका बेलाका साक्षीद्वय विष्णु पौडेल र जनार्दन शर्मालाई सँगै राखेर पनि छलफल भएको थियो। सुरुमा चारजना र पछि अध्यक्षद्वयबीच छुट्टै वार्ता चले पनि बैठकले कुनै समाधान निकाल्न नसकेको प्रचण्डले ब्रिफिङ गरेका छन्।

छलफलमा प्रधानमन्त्री ओलीले दुवै पदबाट कुनै पनि हालतमा राजीनामा नदिने मनासय रहेको भन्दै अध्यक्ष प्रचण्डले ओलीको नियत पार्टी विभाजन गर्ने रहेको बताएका छन्। ओली र प्रचण्डबीच शनिबार पनि छलफल हुँदैछ।

ओली–प्रचण्डको छलफलपछि बस्ने बिहान ११ बजेपछि स्थायी कमिटि बैठकमा समस्या समाधानको विल्कपमाथि छलफल हुने बताइएको छ। तर त्यसको सम्भावना दुवै पक्ष आफ्नो अगाडनमा अडिग रहेसम्म सम्भाव नहुने देखिन्छ।

यसअघि बिहीबारको स्थायी समिति बैठकले पार्टीभित्रको विवाद साम्य पार्न बैठक नै रोकेर दुई नेताबीच सहमति खोज्न समय दिइएको थियो। 

नेताहरुबीच विवाद कायमै रहेका बेला प्रम ओलीले बिहीबार स्थायी समिति बैठक र नेताहरुलाई छल्दै संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए। बिहीबार भएको दुई नेताबीचको कुराकानीमा पनि ओलीले दुवै पद नछाड्ने आवश्यक परे अरु विषयमा भने छलफल गर्ने बताएका थिए।

याे घटनापछि पार्टी फुटाउन ओलीले अध्यादेश ल्याउन सक्ने भन्दै एकताको पक्षमा रहेका नेताहरुमा चिन्ता बढेको छ। तर पुन ओली र प्रचण्डबीच सहमतिको प्रयास गरिने प्रचण्डनिकट स्रोतले जनाएको छ। 

प्रकाशित मिति: : 2020-07-04 09:25:14

प्रतिकृया दिनुहोस्