आडम्बरी

वसन्ततिलका छन्द

राम्रा, सफा र सुकिला कपडा लगाई

बाह्याङ्ग चित्र चखिलो, रसिलो बनाई

भित्री   स्वरूपतहमा  अतिचार  झर्ने

आडम्बरी  मनुज  हो खुब धाक छर्ने॥१॥

 

पस्की  सुवाक्य गुरुझैँ  भवकूप तार्ने

आँखा छलीकन स्वयं पद अन्त सार्ने

सित्तैँ   समाजहितका  गफमात्र गर्ने

आडम्बरी मनुज हो खुब धाक छर्ने॥२॥

 

आस्था अपार मनमा  परिपूर्ण राखी

श्रीशक्तिको  सतत पूजन गर्छ भाकी

स्त्रीजातिको दिनहुँ इज्जत किन्तु हर्ने

आडम्बरी  मनुज  हो खुब धाक छर्ने॥३॥

 

पानी  समेत  गठमा  दशबार  छानी

स्वीकार गर्छ  तबमात्र विशुद्ध जानी

लुक्दै  सधैँ  पसलमा  तर मद्य  भर्ने

आडम्बरी मनुज  हो खुब धाक छर्ने॥४॥

 

‘श्री  राम राम’ मुखले जनसामु जप्ने

पर्दापछाडि    शरले  मनभित्र  कप्ने

नानाथरी   वदनमा  थप  रूप  धर्ने

आडम्बरी मनुज  हो खुब धाक छर्ने॥५॥

प्रकाशित मिति: : 2020-07-04 11:24:45

प्रतिकृया दिनुहोस्