सांसद यादवको निजि खर्चमा वीरगञ्ज–रक्सौल जाेड्ने मितेरी पुलको मर्मत

सांसद प्रदिप यादवले आफ्नो सेवा सुबिधाको रकमबाट मितेरी पुलको मर्मत सम्भार गराएका छन्। उनकाे निजि खर्चमा वीरगञ्ज–रक्सौल जोड्ने मितेरी पुलको मर्मत सम्भार गरिएको हो।

सांसद यादवले भारत तथा तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको करीब १७ वर्षको लामो इतिहास बोकेकाे सो पुलको बीच भागमा ठाउँठाउँमा प्वाल परी जीर्ण हुँदै गएको देखेर मर्मत सम्भार गराएको बताए।

‘मितेरी पुल हुँदै आउने मालवाहक सवारीसाधनबाट सरकारले कर मात्र लिने गरेको छ। तर वर्षौदेखि बिग्रिएकाे सडकमा ध्यान नदिनु दु:खको कुरा हो। त्यसैले म आफैँले ममर्त गराएँ,‘उनले भने।

दैनिक सयौंको संख्यामा मालबाहक गाडी तथा इन्धन बोकेको ट्यांकर ओहोरदोहोर गर्ने मितेरी पुल जर्जर हुनुको साथै सडक समेत बिग्रिएका कारण ठूलो दुर्घटना हुन सक्ने अवस्थामा रहेकाे सांसद यादवले बताए।

५० वर्षको लाइफ रहेको भनिएको सो पुलको मर्मतका लागि बेलाबखत आवाज उठ्ने गरेको भएपनि यसको मर्मत हुन सकेको थिएन। भारतबाट २० देखि ४० टन सामान बोकेर नेपाल आउने मालबाहक सवारीसाधनको क्षमताका कारण पुल बिग्रिदै गएकाे छ।

यही अवस्थालाई मध्यनजर गर्दै नेपाल– भारत दुबै देशका सुरक्षाकर्मीहरुको उपस्थितिमा मर्मत सम्भारको काम भएको सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले बिएल नेपाली सेवालाई जानकारी गराए। 

प्रकाशित मिति: : 2020-07-04 15:58:41

प्रतिकृया दिनुहोस्