नेकपा स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार) सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकामा पुनः बुधबारसम्म स्थगन गरिएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताए।

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायतका विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ ।

पार्टीभित्र देखिएको विवाद समाधान गरी बैठक बस्ने तयारी गरिएको छ । अध्यक्षद्वय पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल गरे पनि सहमतिमा पुग्न सकेका छैनन्। हिजो आइतबार पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । आज पनि दुई अध्यक्षबीच पार्टीभित्र देखिएका विवाद समाधानका लागि छलफल हुने प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-06 10:47:08

प्रतिकृया दिनुहोस्