‘मासुमा डल्लो भए अप्रेसन गर्नुपर्छ, बजेट डल्लाे छ फाेडेर दुर्गममा बाडौं’

कर्णाली प्रदेशकाे सुरुवाती दिनहरुमा बाेल्न नसक्ने सांसद भनेर चिनिए पनि झाेवा विक अब बाेल्न सक्ने भइसकेकी छिन्।

उनकाे बाेलीमा कयाैं अस्पष्टता भएपनि मनमा जनताप्रतिकाे भावना स्पष्ट छ। उनी जनताका समस्या निर्धक्क राख्छिन्। कुरा चपाउँदिनन्।

पछिल्लो समय बाेल्न कुनै गाह्राे नमान्ने उनी हाल प्रदेशका महत्त्वपूर्ण विषयमा सजिलै छलफल गर्छिन् र मनमा लागेका कुरा प्रष्टसँग राख्छिन्। 

उनी संसदमा बाेल्न लाग्दा केही सांसद व्यंग्य स्वरुप हाँस्छन्। तर उनकाे बाेलीमा नेपालकाे सांस्कृतिक विविधता झल्किन्छ।

हाल प्रदेश सरकारले स्पष्ट रुपमा बजेट विनियोजन नगरेको भन्दै कर्णाली प्रदेशको प्रतिपक्षी दलले लामो समयसम्म सदन अवरूद्ध गर्‍यो। विशेषगरी मुख्यमन्त्री कार्यालयको बजेट डल्लो भएकोमा प्रतिपक्षकाे चर्काे विराेध रहँदै आएकाे छ।

साेमबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयको बजेट शीर्षकमाथि छलफलमा सांसद विकले सक्रिय सहभागिता जनाइन्।

उनले प्रदेश सरकारलाई व्यंग्य गर्दै डल्लो बजेट फुटाउनु पर्ने धारणा राखिन्। ‘मुख्यमन्त्रीको कार्यालयमा भएको यो आर्थिक वर्षको बजेट डल्लो छ। यसलाई सबै मिलेर फुटालाैं। अप्रेसन गरेर गाउँगाउँ पठाउँ,’  उनले भनिन्। 

बजेट विनियोजन गर्दा समानुपातिक नभएकोमा उनकाे अापत्ति छ। त्यसैले विकासका पूर्वाधार निर्माण गर्न धेरै बजेट लाग्ने दुर्गम क्षेत्रमा नै प्रदेश सरकारले थोरै बजेट हाल्ने गरेकोमा विराेध जनाइन्। 

‘हामी दुर्गम क्षेत्रका समानुपातिक सांसदको निर्वाचन क्षेत्रमा किन कम बजेट जान्छ? हामीले हाम्रो क्षेत्रमा बजेट लिएर घर बनाउने होइन। छोरोछोरीको बिहे गर्ने होइन,’ उनले चर्काे स्वारमा भनिन्, ‘मेरो क्षेत्रमा जाने र अर्को माननीयको क्षेत्रमा जाने बजेट उही जनताको लागि हाे। तर मेराे क्षेत्रमा कम हुँदा मैले जनतालाई के जवाफ दिने?’

सदाझैं मुख्यमन्त्री कार्यालयमा बजेट डल्लाे पर्नु नै समस्या रहेकाे उनकाे तर्क छ। 

‘मुख्यमन्त्री कार्यालयमा जहिले पनि डल्लो बजेट रहन्छ। पोहोर पनि डल्लो बजेट थियाे,’ उनले पुराना कुरा सम्झँदै भनिन्, ‘अहिले पनि यही समस्याका कारण हामीले १० दिनसम्म सदन अवरूद्ध गर्नुपर्‍यो। मासुमा डल्लो भए त अपरेशन गर्नु हुन्थ्यो। मनमै डल्लो परेछ अपरेशन गर्न कहाँ जानु? तैपनि डल्लो बजेटलाई सकेसम्म फुटालेर गाउँगाउँ लगाैं।’

प्रकाशित मिति: : 2020-07-06 21:21:08

प्रतिकृया दिनुहोस्