ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ परामर्शमा व्यस्त भएका छन्। 

यसैक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग छलफल गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ। विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ।

नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका हुन्। आज र भोलीसम्म नेकपामा सहमति हुने वा नहुने टुंगो लाग्ने एक स्थायी समिति सदस्यले बताए।

पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री ओली र अध्यक्ष  प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो।

आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा बसेका हुन्।

पार्टीमा बढेको गतिरोध अत्यका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको भनेर कतिपय सञ्चार माध्यममा समाचार आएपछि दोस्रो तहका नेताहरुले सहमतिका लागि पहल गर्दै आएका छन्।

 कार्यकर्ताहरुले पनि जिल्ला जिल्लामा प्रदर्शन गर्दै पार्टी बिभाजन नगर्न र एकताबद्ध हुन दबाव दिँदै आएका छन्।

प्रकाशित मिति: : 2020-07-07 11:46:25

प्रतिकृया दिनुहोस्