गुरुङ वैदेशिक रोजगार बोर्डको सदस्यमा नबस्‍ने

बरिष्ठ वैदेशिक रोजगार व्यवसायी एवं एसओएस म्यानपावर सर्भिस प्रा.लि.का संचालक हेमबहादुर गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्यमा नबस्‍ने बताएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले व्यवसायी गुरुङलाई बोर्ड सदस्यमा असार १८ गतेको निर्णयानुसार दोस्रो पटक नियुक्त गरेको थियो।

उनले कोभिडको कारण वैदेशिक रोजगारको क्षेत्रमा जटिलता देखिएको र व्यक्तिगत अस्वस्थताको कारणले सदस्य पदमा रहेर काम गर्न असमर्थ रहेको भन्दै श्रम मन्त्रालयलाई पत्र बुझाएका हुन्।

मन्त्रालयले गुरुङलाई वैदेशिक रोजगार व्यवसायीहरुकातर्फबाट र खड्कालाई वैदेशिक रोजगार विज्ञकारुपमा मनोनित गरेको थियाे। मनोनित सदस्यहरुको कार्यकाल निर्णय भएको मितिले दुई वर्षसम्म रहने थियाे।

श्रममन्त्रीको अध्यक्षता रहने यस बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था रहेको छ। 

हाल बोर्डमा अध्यक्षसहित २५ जना सदस्य रहेका छन्। तर चार महिनायता बोर्डको बैठक बस्‍न नसक्दा काम प्रभावित भएको छ।

वैदेशिक रोजगार ऐनमा ‘वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्ने, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहितको संरक्षण गर्न आवश्यक कार्य गर्ने प्रयोजन समेतको लागि वैदेशिक रोजगार बोर्डको गठन’को व्यवस्था गरेको छ।

प्रकाशित मिति: : 2020-07-07 16:12:50

प्रतिकृया दिनुहोस्