सरिता गिरी पार्टीबाट निस्कासित, सांसद पद गयाे

समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ। यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन्।

गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा र निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भन्दै संशोधन दर्ता गराएकी थिइन्। 

विधेयक दर्ता गराएपछि चौतर्फी आलोचना भएपछि पार्टीले उनकाे गतिविधिबारे छानविन गर्न महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो। त्यसैअनुसार कारवाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए। 

पार्टीले उनले नेपालको संविधानको दोस्रो संशोधन संसदीय दलका निर्देशन विना नै संशोधन हालेको ठहर गरेको छ। 

सांसद गिरीले संसद सचिवालयमा दर्ता गराएको विधेयकमा संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको थियाे। दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक पास गरेकाे छ।

उनका अनुसार भारतलाई नसोधी नक्सा प्रकाशन गर्न पाइदैन। उनले कालापानीमा ६० बर्षदेखि भारतीय सेना बसिरहेको बताउदै नेपाल, भारत र चीनबीचको सीमा निश्चित हुनुपर्ने बताइरहेकी छिन्। 

प्रकाशित मिति: : 2020-07-07 16:46:44

प्रतिकृया दिनुहोस्