ललितपुरकी लीला सिटौला प्रतिनिधि सभाकी सांसद

सरिता गिरीलाई कारबाही गरेपछि सिटौलाको भाग्य खुल्यो

ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन्। समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेसँगै सिटौला प्रतिनिधिसभा सदस्य बनेकी हुन्।

समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी गिरीलाई पार्टीले कारवाहीगरेसँगै बन्दसूचीमा उनीभन्दा तल रहेकी सिटौला स्वतः सांसद बन्न पाउने भएकी हुन्।

पुरानै वामपन्थी कार्यकर्तासमेत रहेकी ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन्।

यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार थिइन्। तर, सरिता गिरीले लफडा गरेपछि लीलाको नाम पछाडि राखेर उनको नाम माथि राखिएको थियो।

तत्कालीन संघीय समाजवादी फोरमले समानुपातिकतर्फबाट ६ सीट पाएको थियो। त्यसमध्ये एक पुरूष र ५ महिला सांसद बनेका थिए ।

पुरुषतर्फ आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद बनेका थिए । खस आर्यको कोटामा सरिता गिरी छानिएकी थिइन् । आदिवासी जनजाति महिलामा रेनुका गुरुङ, दलित महिलामा कलुदेवी विश्वकर्मा, मधेसी महिलामा रेणुकुमारी यादव र मुस्लिम महिलामा रुही नाज छानिएका थिए।

निर्वाचन आयोगले रिक्त समानुपातिक सांसदमा बन्दसूचीमा जो पछाडि छ, उही सांसद बन्ने स्पष्ट पारिसकेको छ। यसै साता कांग्रेस सांसद ज्ञानुकुमारी छन्त्यालको निधन भएकोमा आयोगले उनीपछि रहेकी सुवर्ण ज्वारचनलाई सांसद बनाउनुपर्ने स्पष्ट पारेको छ। अब यही नजीरअनुसार सांसद बन्नका लागि लीला सिटौलाको भाग्य खुलेको हो।

प्रकाशित मिति: : 2020-07-07 19:11:53

प्रतिकृया दिनुहोस्