चिनियाँ दूतावास अगाडि ‘गो ब्याक चाइना’काे नारा !

चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन्।

मंगलबार ८/१० जनाको समूहले ‘गो ब्याक चाइना’ भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन्।

 नेकपामा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत होउले नेताहरुसँग भेटवार्ता तीव्र बनाएकी छन्।

यान्छीले आज नेकपाका शीर्ष नेता झलनाथ खनालसँग डल्लुस्थित खनाल निवासमा भेट गरेकी थिइन्। 

राजदूत होउले नेता खनालसँग करिब ४५ मिनेट कुराकानी गरेको नेकपा सम्बद्ध स्रोतले जानकारी दिएको छ। तर के कुराकानी भयो भन्ने विषयमा खुलाइएको छैन। 

यसअघि उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन्।

राजदूत होउले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेकी थिइन्।

यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्।
 

प्रकाशित मिति: : 2020-07-07 19:16:58

प्रतिकृया दिनुहोस्