ओली–दाहाल भेटवार्ता दिउँसो ४ बजे, सहमतिको ठोस प्रस्ताव खोजिंदै

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच तय भएको ‘वान अन वान’ वार्ता दिउँसो ४ बजे बस्ने भएको छ।

मंगलबार दिउँसो भएको झण्डै तीन घण्टा लामो वार्ताले आज स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्ष बस्ने तय भएको थियो। तर, ११ बजे बोलाइएको स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएसँगै दुई अध्यक्ष बीचको वार्ता पनि सारिएको छ।

फुटको संघारमा पुगेको नेकपाका शीर्ष नेताहरुको छलफल सकारात्मक बनेपछि स्थायी कमिटी स्थगित गरी छलफल बढाउने रणनीतिमा नेताहरु जुटेका छन्। विशेषगरी दोस्रो तहका नेताहरुको हस्तक्षेपले नेकपा नेतृत्व बैठक स्थगित गरेर भए पनि सहमतिमा जुट्न बाध्य बनेको छ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार छलफल भइरहे पनि सहमतिको ठोस प्रस्ताव तयार भइ सकेको छैन।  उनले अनौपचारिक वार्ता भइरहे पनि सहमतिको ठोस प्रस्ताव तयार हुन नसकेको बताए।

दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार दुई अध्यक्ष बीचको वार्ता अगाडि अन्य नेताहरुसँग पनि छलफल गर्ने तयारी छ। ‘चार बजे बालुवाटारमा दुई अध्यक्ष बीच छलफलको समय निर्धारण भएको छ। त्यस अगाडि अनौपचारिक सम्वाद हुन्छ’, उनले भने।

गएको १० असारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठक १६ असारदेखि भने बस्न सकेको छैन। १८ असारमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेपछि नेकपाको स्थायी कमिटी प्रभावित बन्दै गएको छ। त्यसपछि २०, २२ र २४ असारमा बोलाइएको स्थायी कमिटी बैठक लगातार स्थगित गरिदै आएको छ।

प्रकाशित मिति: : 2020-07-08 12:31:12

प्रतिकृया दिनुहोस्