नव नियुक्त आईजीपी थापाले भने-प्रहरी संगठनलाई उत्कृष्ठ बनाउँछु

मेराे पूर्ण साथ र समर्थन रहन्छ: गृहमन्त्री थापा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई  उत्कृष्ट  संगठन बनाउने प्रतिबद्धता जनाएका छन्। 

बिहीबार पदभार ग्रहण गरेका आईजीपी क्षेत्रीले पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने बताएका हुन्। 

संगठनका हितका लागि आफू सदैब तत्पर रहने भन्दै आईजीपी थापाले संगठनलाई उत्कृष्ठ बनाउने प्रतिवद्दता ब्यक्त गरे। 

उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिने विश्वास दिलाए। प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने बताए। उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रहसमेत गरे। उनले भने, ‘कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्मम रूपमा कारवाही गरिन्छ।’

उनले जीवनमै नभोगिएको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले सङ्क्रमण रोक्न सिक्दै अघि बढ्ने बताए। प्रहरी समायोजनलाई सही निष्कर्षमा पुर्‍याउनेसमेत उनले प्रतिबद्धता जनाए।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरे।

संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सिमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ, यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ । मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरो पुरा तागत यसमा लगाउने वाचा गर्दछु ।’

प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएको भन्दै उनले कानुन उलंघन गर्ने निकायको रुपमा रुपान्तरण हुन कुनै पनि हालतमा छुट नहुने बताए।

गृह सचिव महेश्वर न्यौपानेले बिहीबार बिहान आईजीपी क्षेत्रीलाई दर्ज्यानी  चिह्न प्रदान गरेका हुन्।

न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे।

कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए।

‘मैले पहिले पनि भनेको हुँ, अहिले पनि भन्छु, सङ्गठनमा कुनै पनि गलत प्रवृत्ति देखियो भने निकालेर फालौँ, कुनै भनसुन चल्दैन, हरेक निर्णय कानून र निष्पक्षतामा रहेर हुन्छ’, उनले भने।

प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उनले जोड दिए। प्रहरी सङ्गठनमा एक ढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानूनको परिपालनालाई प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उनले बताए। उनले अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन प्रहरी अधिकृतलाई निर्देश गरे। उनले तीन तहको राज्य संरचनाअनुसार प्रहरी समायोजन गर्ने अभिभारा प्रहरी महानिरीक्षकसामु रहेको बताए। सरूवा, बढुवा, तथा वृत्तिविकासमा दबाब र प्रभावमा पर्नुपरेको भन्ने कुरा सुन्नमा आएको उल्लेख गर्दै उनले मूल्याङ्कनमा अब्बल व्यक्ति नै छनोट हुने प्रष्ट्याए।

यसैबीच गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा 'बादल' ले नवनियुक्त आइजिपी शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।

‘तपाईंको कार्यकाल शान्ति, सुरक्षा,अमनचयन कायमगर्न उत्कृष्ट हुने विश्वास लिएकाे छु। मेराे पूर्ण साथ र समर्थन रहन्छ। तपाईंको ट्राक रेकर्डका आधारमा योग्य देखेर यो जिम्मेवारी दिएका हाैँ। समायोजन काम टुंगोमा छिटाे पुग्नेगरि काम गर्नूहोस्’, मन्त्री थापाले भने,‘राज्यले विकासलाई प्राथमिकतामा राखेकाे छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हाे , त्यसमा विशेष ध्यान दिनुहोस्।’

३० वर्षे सेवा अवधि पुरा गरी निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारदेखि प्रहरी सेवाबाट अवकाश भएपछि सरकारले थापा क्षत्रीलाई प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो।

प्रकाशित मिति: : 2020-07-09 13:41:08

प्रतिकृया दिनुहोस्