काश्मिरमा २७ वर्षीय भाजपा नेताको परिवारसहित हत्या

उत्तर काश्मिरको बान्दी पोरामा भारतीय जनता पार्टी (भाजपा) का २७ वर्षीय जिल्ला अध्यक्ष वसीम अहमद बारी र उनको परिवारलाई पूर्ण रूपमा सुरक्षा दिन नसकेको भन्दै १० सुरक्षाकर्मीलाई पक्राउ गरिएको छ। 

यी १० सुरक्षाकर्मी बारी र उनको परिवारको सुरक्षामा खटिएका थिए। बुधबार राति आतंकवादीले जिल्ला अध्यक्ष बारी, उनको बुवा तथा भाईलाई गोली हानेर हत्या गरेका थिए। 

जम्मु काश्मिरका पुलिस महानिर्देशक दिलबाग सिंहका अनुसार आतंकवादीले २७ वर्षीय बारीलाई उनको पसल बाहिर राति करिब ९ बजे गोली हानेका थिए। उनको घटनास्थलमै निधन भएको थियो। 

प्रहरीका अनुसार बारीपछि उनको भाइ उमेर र बुवा बशीर अहमदलाई गोली हानिएको थियो। उनीहरूको निधन पनि घटनास्थलमै भयो। उनीहरू माथि हमला गर्ने आतंकवादीले साइलेन्सरयुक्त रिवल्वरबाट गोली हानेका थिए। घटना मुख्य प्रहरी चौकीदेखि १० मिटरको दुरीमा भएको थियो। 

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार जम्मु काश्मिर प्रहरीले बारी र उनको परिवारको सुरक्षामा सक्रिय १० सुरक्षाकर्मीलाई पक्राउ गरेको छ। हमला हुँदा सुरक्षाकर्मी घटनास्थलमा नभएको बताइएको छ। 

पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला तथा बन्दीपोराका पूर्व सांसद उस्मान मजीदले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् र उनीहरूले खेद प्रकट पनि गरेका छन्। भाजपा नेता सुरिन्दर अम्बरदारले घटनाको कडा शब्दमा निन्दा गरे।

कांग्रेस तथा पीडीपी पार्टीले पनि घटनाको कडा शब्दमा आलोचना गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डालगायत शीर्ष नेताले हत्या गरिएका बारी परिवारप्रति श्रद्धान्जली व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-07-09 18:03:26

प्रतिकृया दिनुहोस्