टिकटकमाथि प्रतिवन्ध लगाउन अष्ट्रेलियाली सांसदहरूको माग

विवादमा पर्दै आएको टिकटक एपलाई अष्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ । 

अष्ट्रेलियाका सांसदहरुले नै देश भित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका थिए । 

यस चिनियाँ एपमार्फत् चीन सरकारले अष्ट्रेलियाका नागरिकहरुको विवरण लिनसक्ने भन्दै उनीहरुले टिकटक प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिएका हुन् ।  

अष्ट्रेलियाका उदारवादी सिनेटर जीम मोलानले टिकटकलाई चिनियाँ सरकारले प्रयोग र दुरुपयोग गरिरहेको आरोप लगाए।

त्यसैगरी लेबर पार्टीका सिनेटर जेन्नी म्याकअलिस्टरले पनि सामाजिक सञ्जाल मार्फत अष्ट्रेलियाका नागरिकहरुको सूचना बाहिरिनसक्नेतर्फ ध्यानाकर्षण गराए।  

तर सुचना चोरी भएको आरोपलाई टिकटक एपको कम्पनीले भने कुनै दुरुपयोग हुने सम्भावना नरहेको दावी गरेको छ । कम्पनीले टिकटकमा कुनै विवरण भण्डारण हुने व्यवस्था नरहेको जनाएको  छ । 

यसअघि भारत र चीनबीच सीमा विवादका कारण सम्बन्धमा दरारहरु पैदा भएपछि भारतमा टिकटक प्रतिबन्ध गरिएको थियो । 

भारतमा पछिल्लो समय चिनियाँ सामाग्रीहरुलाई प्रतिबन्ध लगाउने प्रबृत्ति बढेको छ । भारतले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारत सरकारले ती एपहरुमा प्रतिबन्ध लगाएको बताएको छ ।

प्रकाशित मिति: : 2020-07-09 19:24:19

प्रतिकृया दिनुहोस्