‘भागेर जाने ठाउँ छैन’

नन्दराज जैसी

२०७१ साउन २९ गते राती आएको बाढीले पञ्चपुरी नगरपालिका-५ तिखाकुनाका १३ जनाको ज्यान लियो। भेरी नदी उर्लिएर गाउँ भित्रै छिरेपछि ९६ घर परिवार विस्थापित भए। एक सय १४ घर धुरीको चार सय एक रोपनी खेती योग्य जमिन बगरमा परिणत भयो तर बाढी पीडतले भने अहिलेसम्म राहत पाएका छैनन्।

विगत ५ वर्ष यता नजिकैको पाल बजारमा अस्थायी टहरा बनाएर बसिरहेका बाढी पीडित राहतको पर्खाइका छन्। कतिपय पीडितको भने राहत लिस्टमै नाम अटाएको छैन। ‘आफ्नो जग्गा नभएपछि माइतीले दिएको जग्गामा घर बनाएका थियौं। बाढीले त्यही घर, जग्गा पनि बगाइदियो’ पीडित खगीसरा शाहीले भनिन्, ‘राहत लिस्टमा हाम्रो नामै छुटाइ दिए। अहिले त्यही बाढीले बगाएको जग्गामा टहरा हालेर बसेका छौं।’

उनको परिवारमा चार जना सदस्य छन्। दैनिक ज्याला मजदुरी नगरी चुलो बल्दैन। उनी जस्तै राहत लिस्टमा गणेश चौलागाईं, पदम विक, भक्ति ढकाललगायत केही व्यक्तिको नाम अँटाउन नसकेको हो। उनीहरु अहिले पनि बाढीले बगाएको जग्गामा टहरा हालेर बसेका छन्। ‘पानी पर्दा रातभर निन्द्रा लाग्दैन। भागेर जाने कुनै ठाउँ पनि छैन’ गणेश चौलागाइले भने, ‘बाढीले नत आफन्त रहे। नत घरजग्गा नै। अहिलेसम्म राहत पनि पाएका छैनौं।’

प्रकाशित मिति: : 2020-07-10 09:19:56

प्रतिकृया दिनुहोस्