नेकपाको स्थायी कमिटि बैठक पाँचौँ पटक स्थगित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक पाँचौँ पटक स्थगित भएकाे छ।

आज बिहान ११ बजेका लागि डाकिएको बैठक एक साताका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रिय कार्यालयको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटिको बैठक ७ दिन स्थगित’, प्रवक्ता श्रेष्ठले ट्विटमार्फत जानकारी दिएका छन्।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाटओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ।

यसलाई समाधान गर्नका लागि ओली र प्रचण्डबिच लगातार वार्ता हुँदै आएको छ। तर कुनै निष्कर्षमा भने पुग्न सकेकाे छैन। बुधबार बालुवाटारमा ओली र दाहालबीच भएको छलफल भनाभनमा परिणत भएपनि बिहीबार उनीहरु छलफलमै बस्न सकेनन्।

यता पार्टी फुटबाट जोगाउनका लागि सबै गुटका दोस्रो तहका नेताहरु पनि लगातार छलफलमा छन्। कृषि मन्त्री समेत रहेका घनश्याम भुसालको संयोजनमा बिहीबार सिंहदरबारमा११ स्थायी समिति सदस्यहरुले दिनभर छलफल गरेका थिए। 

उनीहरुले नेतृत्वलाई जसरी पनि पार्टी एकीकृत बनाइ राख्न र सहमतिका आधारमा नभए पार्टी प्रक्रियामा गएर समाधान खोज्न दबाब दिँदै आएका छन्।

प्रकाशित मिति: : 2020-07-10 10:24:46

प्रतिकृया दिनुहोस्