सिन्धुपाल्चोकको लार्चामा पहिरो, १ जना बेपत्ता, ८ घरमा क्षति

अविरल वर्षासँगै आज बिहान आएको बाढी र पहिरोले भोटेकोशी गाउँपालिका २ लार्चामा एक जना बेपत्ता भएका छन्  । भैरवकुण्ड खोलामा आएको बाढी र पहिरोले एक जना बेपत्ता भएका हुन्।

गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाका अनुसार उक्त स्थानमा तीन घर बगाएको छ भने तातोपानी बजारका पाँचघर पहिरोले पुरिएको छ ।

यता अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इलाका प्रहरी चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मको वरिपरिको सडक र पुल सबै खोलाले बगाएले सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ उत्पन्न समेत भएको छ । 

यसैगरी अविरल वर्षाले स्थानीय चौकीडाँडा भासिने अवस्थामा पुगेकाले सीमा प्रहरी कार्यालयसमेत जोखिममा परेको छ । 

यता दश किलो भन्ने स्थानमा ठाडोखोलाको बाढीले कल्भर्ट (पुलेसा) समेत बगाएको र एउटा कन्टेनर भ्यानलाई बाढीले सडकको छेउमा पुर्‍याएकोले भोटेकोशी नदीमा खस्ने अवस्थामा रहेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

सो स्थानका ३० घरपरिवारलाई कोदारी माथि भवनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरुको खानपानको व्यवस्था गाउँपालिकाले मिलाएको गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: : 2020-07-10 13:42:56

प्रतिकृया दिनुहोस्