ऐश्वर्या र जयाको रिपोर्ट नेगेटिभ

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ। उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको किशोरी पेडनेकरले जानकारी दिएकी छन् ।

उनीहरुको शनिबार नै द्रूत गतिमा परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको उनले बताइन्। तर उनीहरु दुवै जनालाई १४ दिने क्वारेन्टाइनमा राखिएको र सो क्रममा पनि परीक्षण हुने बताइन्।

अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा संक्रमण देखिएको हो । दुवैलाई संक्रमण देखिए लगत्तै मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।

यसअघि अमिताभले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए । उनले पछिल्लो १० दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराउन पनि आग्रह गरेका छन्। त्यसपछि उनका छोरा अभिषेक बच्चनले पनि आफूमा संक्रमण देखिएको बताएका थिए ।

७७ वर्षका अभिताभलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन । अमिताभ र अभिषेकलाई कोरोना भाइरसको संक्रमण भएको खबर आएपछि बलिउडका धेरै कलाकारहरुले उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति: : 2020-07-12 13:57:26

प्रतिकृया दिनुहोस्