संसदीय समितिमा निर्विरोध नेतृत्व चयन

कर्णाली प्रदेशसभाअन्तर्गतका संसदीय समितिमा निर्विरोध नेतृत्व चयन भएको छ । चार वटा समितिको अध्यक्ष पदका लागि भएको मनोनयनमा एक/एक जनाले मात्र उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको हो । 

प्रदेशसभा सचिवालयका अनुसार अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा गणेशप्रसाद सिंह, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली, विधायन तथा प्रदेश मामिला समितिमा दानसिंह परियार र सार्वजनिक लेखा समितिमा दिनबन्धु श्रेष्ठको मात्र मनोनयन दर्ता भएको छ । सार्वजनिक लेखाबाहेक अन्य तीन समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेतृत्व लिएको छ ।

प्रदेशसभाका निमित्त सचिव वीरेन्द्रबहादुर केसीले मतदानको मिति आज तोकिए पनि एकल उम्मेदवारी परेपछि चारवटै समितिका अध्यक्ष निर्विरोध चयन भएका बताए । प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसूची ५ बमोजिम सभामुखले तोकेको कार्यकक्षमा शपथ ग्रहणपश्चात अध्यक्षले कार्यभार सम्हाल्नेछन् । 

समिति गठन भएको २७ महिनापछि नेतृत्व चयन गरिएको हो । यसअघि प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठताका आधारमा समितिको अध्यक्षता गर्दै आएका थिए । नेकपा कर्णाली प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण समितिले नेतृत्व पाउन सकेको थिएन । ‘मिनी संसद्’ भनिने संसदीय समितिले लामो समयसम्म नेतृत्व पाउन नसक्दा प्रदेशसभा सचिवालय र सत्तारुढ नेकपाको आलोचना हुने गरेको थियो ।

प्रकाशित मिति: : 2020-07-12 20:09:56

प्रतिकृया दिनुहोस्