अमिताभ वच्चन परिवारका चार सदस्यमा कोरोना पोजेटिव, जयामा मात्र नेगेटिव

बिएल संवाददाता

मुम्बै, भारत

बलिउड 'शहनशाह' अमिताभ वच्चन परिवारका पाँचमध्ये चार सदस्यमा कोरोना पोेजेटिव देखिएको छ। परिवारका मुखिया अमिताभ बच्चनबाट सुरू भएको कोरोना संक्रमण क्रमश: छोरा अभिषेक वच्चन हुदै बुहारी ऐेश्वर्या र नातिनी आराध्यामासम्म पुगेको छ।परिवारकी एक मात्र सदस्य जया वच्चनको भने कोरोना परीक्षण नेगेटिव देखिएको छ। 

शनिबार भारतीय सञ्चार माध्यममा अमिताभ र अभिषेकमा कोरोना संक्रमण देखिए पनि ऐश्वर्या र आराध्यामा कोरोना नेगेटिव देखिएको समाचार आएको थियो । तर, आइतबार अभिषेक वच्चनले ट्विट गर्दै उनीहरू दुबैको कोरोना परीक्षणको नतिजा पोजेटिव आएको जानकारी दिएका छन्। 

अमिताभ र अभिषेक वच्चनको मुम्बैस्थित नानावती अस्पतालमा उपचार भैरहेको र उनीहरूको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको जनाइएको छ। ऐश्वर्या र आराध्या भने घरमै सेल्फ क्वारेन्टाइनमा रहेको अभिषेक वच्चनले जानकारी दिएका छन्। उनले संक्रमण गम्भीर अवस्थामा नरहेको जानकारी दिदै सुस्वास्थ्यको कामना गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। 

यसैबीच वच्चन परिवारमा भएको कोरोना संक्रमणको समाचार भारतीय सञ्चार माध्यममा मात्र सिमीत छैन, संसारभरकै मिडियामा पनि फैलिएको छ। अमेरिकाका मुलधारका मिडियामा पनि विभिन्न शिर्षकमा समाचार सार्वजनिक भएका छन्।

समाचारमा अमिताभ वच्चन जतिकै महत्व ऐश्वर्या रायलाई पनि दिइएको छ। सीएनएनले आफ्नो अनलाइन संस्करणमा 'संसारकै सुन्दर महिलामा कोरोना पोजेटिव' भनेर समाचार दिएको छ। सन् १९९४ की मिस वर्ल्ड ऐश्वर्या राय संसारकै सुन्दर महिलामा गनिन्छिन्। खासगरी सौन्दर्यपारखीहरू उनका नीला आँखालाई प्रशान्त महासागरको नीलो पानीसँग तुलना गर्ने गर्छन्। 

प्रकाशित मिति: : 2020-07-13 00:27:23

प्रतिकृया दिनुहोस्