‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदमार्ग प्रवर्धन गरिने

कोभिड–१९ महामारीका कारण नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पर्‍यो। महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको अवस्थामा पर्यटन क्षेत्रको गतिविधि प्रायः ठप्प बन्यो । बन्दाबन्दीका बीचमै राजधानी काठमाडौँसँग जोडिएको पदयात्रा पर्यटनको खोजी भएको छ । 

काठमाडौँको बूढानीलकण्ठदेखि रसुवाको गोसाइँकुण्डसम्मको ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदयात्रा मार्ग सम्भाव्यता अध्ययन गरिएको हो। काठमाडौँ, नुवाकोट र रसुवा जिल्लालाई जोड्ने यो पदमार्गको बन्दाबन्दीका बीच स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ। नुवाकोट–रसुवा पर्यटन समाज आयोजक तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पदयात्रा मार्गको सम्भाव्यता अध्ययन गरिएको हो।

जम्मा आठ दिनको यो पदमार्ग बुढानिलकण्ठ–अल्छे–मानेभञ्ज्याङ–समुद्रटार–बाघमारा–सागरकुण्ड–राउचुली–झ्याकुमभुली–गोसाइकुण्ड पुगेर धुन्चे हुँदै फर्कन सकिन्छ । काठमाडौँको एक हजार ४०० मिटर उचाइदेखि शुरु हुने पदयात्रा चार हजार ३८० मिटरको गासाइँकुण्ड पुगेर समाप्त हुन्छ ।

 त्यसो त यो पदमार्ग नयाँ हैन । बुढानिलकण्ठदेखि गोसाइँकुण्डसम्मै ढुँगे सिंडी पदमार्गमा ठूलो धनराशी खर्चिएको पुरानै पदमार्ग हो। हालसम्म ८० करोड लगानी रहेको यो पदमार्ग सबैभन्दा बढी सरकारी लगानीको पदमार्ग पनि हो । तर लगानी अनुरुप उपयोग गर्न नसक्दा पदमार्ग ओझेलमा परेको छ ।

यो पदमार्गले शिवपुरी नागर्जुन र लाङ्टाङ राष्ट्रिय निकुञ्जलाई समेटेको छ। यस्तै पदमार्गले गोसाइँकुण्ड–धुन्चे पदमार्ग, गोसाईकुण्ड–हेलम्बु–मेलम्ची पदमार्ग, लाङटाङ पदमार्ग, फिकुरी पदमार्ग, तामाङ हेरिटेज पदमार्ग, रुबी भ्याली पदमार्ग र गणेश हिमाल पदमार्गसँगको कनेक्टिभिटी हुन्छ ।

प्राकृतिक, जैविक, र सांस्कृतिक विविधताले परिपूर्ण यो पदमार्गमा अनगिन्ती पवित्र हिमाली ताल, विविध जातजाति, उनीहरुको चाड पर्व र जीवनशैलीको प्रत्यक्ष अवलोकन गर्न पाइने छ । त्यस्तै विभिन्न गुफा, ओडार, चौरीगोठ, भेडीगोठ आदिको पनि यो पदमार्गमा अवलोकन गर्न सकिन्छ । उपत्यका, पहाडी र हिमाली दृश्यको फराकिलो दृश्यावलोकनको अवसर पनि मिल्ने भएकाले सबैखाले पर्यटकका लागि यो पदमार्ग उपयुक्त गन्तब्य बन्ने व्यवसायीको भनाइ छ ।

‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पदयात्रा मार्ग नयाँ पदमार्ग मात्र नभई यसका अथाह पूर्वाधार पहिल्यै बनिसकेकाले केही पूर्वाधार निर्माण गरी प्रवद्र्धन गरेमा पर्यटन क्षेत्रका लािग नयाँ ‘प्रडक्ट’ हुने प्रतिवेदनको निष्कर्ष छ । पर्यटन व्यवसायी शिव लामिछानेको संयोजकत्वमा  छ सदस्यीय टोलीले यही असार १२ देखि १९ गतेसम्म आठ दिन लगाएर यो पदमार्गको स्थलगत अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन र यसको छोटो भिडियो पनि बनाइएको छ ।

उक्त अध्ययन प्रतिवेदन आज नेपाल पर्यटन बोर्डमा आयोजित  कार्यक्रमका बीच समाजका अध्यक्ष बलराम न्यौपानेले बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलाई हस्तान्तरण गरे। बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बन्दाबन्दीको असहज परिस्थितिमा पनि नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरी प्रतिवेदन बुझाएकामा समाजलाई धन्यवाद दिँदै पदमार्गलाई नयाँ प्रडक्टका रुपमा विकास गर्न बोर्डले अवश्यक सहयोग गर्ने बताए।

उनले बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई चलयमान बनाउन सरोकारवालाको सक्रिय भूमिका चाहिने उल्लेख गरे। बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले राजधानी काठमाडौँसँग जोडिएको लामो पदमार्गको पूर्वाधार विकास र प्रवद्र्धन गर्न सके पर्यटन क्षेत्रका लागि नयाँ उपयुक्त गन्तव्य बन्ने बताए।

पदमार्ग अध्ययन भ्रमण टोलीका संयोजक शिव लामिछानेले पदमार्गभित्र केही भौतिक पूर्वाधार निर्माण गरेको खण्डमा नयाँ पर्यटकीय गन्तव्यबाट लाभ लिन सकिने बताए। युवा समाजसेवी रमेश महतले विसं २००६ मा पूर्व सम्भाव्यता अध्ययन भई ठूलो बजेट खर्च भइसकेको यो पदमार्गले अहिले आएर सार्थकता पाएको भन्दै यसलाई काठमाडौँबाटै पदयात्रा शुरु गर्न सकिने प्रमुख पदमार्गका रुपमा विकास गरिनुपर्नेमा जोड दिए।

काठमाडौंबाट पदयात्रामा निस्केको टोली शिवपुरीहुँदै  सिक्रे, लिखु, नेपाने, मानेभञ्ज्याङ, समुन्द्रटार, भंगेरी, बाघमारा, राउचुली, खुकुरी धार, छ्यार्कुङ चुली, एक्ले कुण्ड, राजारानी कुण्ड, सरस्वती कुण्ड, भैरव कुण्ड,  गोसाइ कुण्ड, लौरीबिना, सिङगोम्पा, भार्खु, धुञ्चेहुँदै एक सातापछि काठमाडौं फर्किएको थियो।

पदमार्गका मुख्य आकर्षणहरू

पदयात्रामा गाउँले परिवेश, संस्कृति र जीवनशैली अत्यन्तै लोभलाग्दा छन्। शिवपुरी राष्ट्रिय निकुञ्ज, लाङ्टाङ् राष्ट्रिय निकुञ्जमा विविध प्रकृतिक सम्पदा , वन्य जीवजन्तु, हरियाली वन जंगल, हिमाली फूल, दर्जनौं पवित्र कुण्ड पार गर्दै पदयात्रामा भरपुर रमाउन सकिन्छ।

बागमाराबाट देखिने नुवाकोटका विशाल फाट, शिवपुरी डाँडा, गुर्जे भञ्ज्याङ, हेलम्बु क्षेत्रको कुटुमसाङ लगाएतका भू-दृश्यले मनै लोभ्याउँछ।

रउचुली (३७८५ मिटर) भ्युपोईन्टबाट सूर्यास्तको मनोरम दृश्यसँगै पूर्व र पश्चिममा हिमालको लामो लर्कन देखिन्छ।

त्यस्तै पदयात्राको सबैभन्दा अग्लो स्थान छ्यार्कुङ चुली (४५८७ मिटर) हो। नुवाकोटकै अग्लो पिकलाई झ्याकुम चुलीसमेत भनिन्छ। यो चुलीबाट पश्चिमदेखि पूर्वसम्मको माछापुछ्रे, लमजुङ, गोर्खा, मनास्लु, गणेश, सानजेन, पालडोर पिक, लाङ्ताङ्, नयाकाङ, दोरजे लाक्पा, जुगलदेखि विश्वको अग्लो सगरमाथा हिमाल (८८४८मिटर) सम्म ३६० डिग्रीको प्यानोरोमिक भ्यू देखिन्छ।

साथै टिब्बतमा पर्ने सिसापाङ्मा (८०१३ मिटर) अग्लो देखि दर्जनौं अन्य हिमाल तथा तिब्बतका बजारसमेत देखिन्छ।

दक्षिणमा काठमाडौं उपत्यकालगायत नुवाकोट र रसुवाका अधिकांश भुभाग प्रस्टसँग अवलोकन गर्न सकिन्छ। 

पदयात्राको अर्को आकर्षण भनेको ४ हजार मिटर माथि रहेको एक्ले कुण्ड, राजारानी कुण्ड, नौकुण्ड, लामो कुण्ड, कामी कमिनि कुण्ड, सरस्वती कुण्ड, भैरव कुण्ड र गोसाइकुण्ड जस्ता दर्जनौ कुण्डहरू हुन्।

लकडाउनमै काठमाडौं- गोसाइकुण्ड पदमार्गको सम्भाव्यता अध्ययन

प्रकाशित मिति: : 2020-07-14 23:04:11

प्रतिकृया दिनुहोस्