सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारले पहल लिनेछ : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारीसम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक यातायात सञ्चालन गर्न यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताए । 

कोभिड– १९ को महामारी पश्चात् यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आएको यातायात ब्यवसायी र मजदूर संगठनका नेताहरुको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सवै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामथ्र्य अनुरुप समाधानमा अग्रसर रहने बताए । 

‘कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिए हुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्चालन गर्न के कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्ने छ ।’ संसारभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको प्रधानमन्त्रीको भनाइ थियो । 

नेपाल यातायात ब्यवासायी राष्ट्रिय महासंघ र यातायात मजदूर संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या प्रस्तुत गरेका थिए । प्रतिनिधि मण्डलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर संघका रामचन्द्र कार्की र नेपाल यातायात मजदूर संघका धर्मराज भण्डारी सहभागी थिए । 

प्रकाशित मिति: : 2020-07-16 12:13:09

प्रतिकृया दिनुहोस्