आज इमोजी दिवस, जापानी डिजाइनर सिगेताकाले सन् १९९९ मा बनाएका थिए

एजेन्सी

टाेकियाे

आज जुलाई १७ अर्थात ‘इमोजी’ दिवस। मानिसहरूको मनको कुरा डिजिटलमा एउटा संकेतबाट प्रस्तुत गर्ने कलालाई नै इमोजी भनिन्छ। यसको डिजाइनर जापानका सिगेताका कुरिता हुन्। जसले २५ वर्षको उमेरमा तयार पारेका थिए। 

सिगेताकाले सन् १९९९ मा १ सय ७६ वटा इमोजीको सेट तयार पारेर यसको सुरुवात गरेका थिए। पछि यो यति चर्चित भयो, अहिले न्युयोर्कको ‘म्युजियम अफ मोर्डन आर्ट’मा स्थायी कलेक्सनको रूपमा समावेश गरिएको छ। 

गत वर्ष बेलायतको विश्वविधालयमा इमोजीको कोर्स समावेश गरिएको थियो। किङ्स कलेज, इडिनबर्ग र कार्डिफसमेत केही विश्वविधालयमा भाषा, मार्केटिङ, मनोविज्ञान र राजनीतिक पाढ्यक्रममा इमोजीलाई समावेश गरिएको थियो। 

इमोजीको उपलब्धि विश्वमा पुर्‍याउन इमोजीपिडियाका संस्थापक जेरेमी बर्गले १७ जुलाईलाई विश्व इमोजी दिवस मनाउने घोषणा गरेका थिए। इमोजी दिवस २०१४ देखि मनाउन सुरु गरिएको हो। 

इमोजीको पिता मानिने शिगेताका न इन्जिनियर हुन्, न डिजाइनर नै । अर्थशास्त्रको अध्ययन पुरा गरेका शिगेताकाले इमोजीलाई मोबाईल इन्टरनेट सर्भिस कम्पनीका लागि बनाएका थिए। यति बेला मोबाइल इन्टरनेटबाट इमेल पठाउन क्यारेक्टरको संख्या २ सय ५० मात्र निर्धारण गरिएको थियो। 

यति बेला नै उनलाई लागेको थियो, मोबाइल इन्टरनेटबाट एकदमै कम शब्दमा आफ्नो कुरा पठाउन इमोजी सबैभन्दा उपयुक्त माध्यम हुन सक्छ। 
शिगेताकाले मौसमको चित्र, कमिक्स बुकबाट लाइट बल्व र टिकलिङ बाम्बबाट बुद्धि लिएर पहिलो इमोजी सेट निर्माण गरेका हुन्, जसमा हासेको, दुःखको, रिसाएको र अचम्म परेको र असमञ्जसमा परेको भाव दर्साउने इमोजी समावेश गरेका थिए।

 जापानमा बढ्दो इमोजीको लोकप्रियतासँगै आइफोनले आफ्नो मोबाइलमा यसलाई जोडेको थियो। पछि बिस्तारै यसको प्रयोग एमएमएस र च्याटिङमा पनि हुन थाल्यो।

प्रकाशित मिति: : 2020-07-17 18:04:50

प्रतिकृया दिनुहोस्