एकल महिलामाथि दुर्व्यवहार गर्ने ७ जनाविरुद्ध मुद्धा दर्ता, ३ जना अझै फरार

पर्सा प्रहरीले एकल महिलामाथि दुर्व्यवहार गर्ने  ७ जनाविरुद्ध मुद्धा दर्ता गरेकाे छ।

छिपहरमाई गाउँपालिका–३ छोटकी जयमंगलापुरकी एकल महिलालाई कपाल मुण्डन गरेर मुखमा कालोमोसो दल्दै अर्धनग्न अवस्थामा पुरै गाउँ परिक्रममा गराउने ७ जना माथि मुद्दा गरिएकाे हाे।

अपमानजनक एवं अमानवीय व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका ४ र फरार रहेका ३ गरी ७ जनामाथि शुक्रबार मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।

पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी मनोजित कुँवरका अनुसार घटना भएको दिन अर्थात बिहीबार नै ४ जना पक्राउ परेका थिए।

पक्राउ पर्नेमा गाउँका भलादमी भनाउने स्थानीय गायक मुनिलाल परदेशी,पीडितका देवर राजदेव ठाकुर,निजकी श्रीमती ईन्दु देवी,अर्का देवर दिपेन्द्र ठाकुरकी श्रीमति सन्ध्या देवी रहेका छन् ।

यस्तै फरार रहनेमा छिपहरमाई गाउँपालिका कार्यपालिका सदस्य सुबास साह,अगुवाहरु सन्जय गिरी, देवर दिपेन्द्र ठाकुर रहेका छन्। उनीहरुकाे  खोजीकार्य भइरहको छ ।

दुई वर्ष पहिले पतिको निधन भएपछि घरपरिवार तथा गाउँका अगुवाले माइतीघर भारतमा अर्कै पुरुषसँग बस्दै आएको आरोप लगाएका थिए भने बोक्सी, र आफ्नो पतिलाई खाएकाे भन्दै घरपरिवारले समेत विगतमा दुव्र्यवहार गर्दै आएका थिए ।

घटना मिलाउन छिपहरमाई गाउँपालिकाकाका जनप्रतिनिधिहरु सक्रिय रहेको स्थानियहरुले बताएका छन् । घटना साम्य बनाउन नेकपाका नेताहरुले प्रहरीमा दबाब दिइरहेको पनि उनीहरुकाे दावी छ।

प्रकाशित मिति: : 2020-07-17 19:11:28

प्रतिकृया दिनुहोस्