मेसीले जिते कीर्तिमानी सातौँपटक गोल्डेन बुट, भने, ‘लिग जित्न पाएको भए म धेरै खुशी हुने थिएँ’

एजेन्सी

काठमाडाैं

बार्सिलोनाका कप्तान लिओनल मेसीले कीर्तिमानी सातौँपटक स्पेनिस ला लिगामा गोल्डेन बुट जित्न सफल भएका छन्। उनले लगातार चौथो सिजन गोल्डेन बुट जितेका हुन्।

आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा एलाभेसलाई ५–० ले पराजित गर्ने क्रममा दुई गोल गरेका मेसी सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन्।

उनले खेलकाे ३४ र ७५ औँ मिनेटमा गोल गरेका थिए। उनले यो सिजन २१ गोलका लागि सहयोग गरेर ला लिगामा २५ गोल गरेका छन्। जुन दोस्रो स्थानमा रहेका च्याम्पियन रियल मड्रिडका करिम बेन्जिमाले गरेको भन्दा चार गोल बढी हो।

ला लिगामा सिजनको सर्वाधिक गोलकर्ताले ३० भन्दा कम गोल गरेको पछिल्लो १२ वर्षमा पहिलो पटक हो। ला लिगामा सन् २००८–०९ को सिजन यता सबैभन्दा कम गोल गरे पनि मेसीले सिजनको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटमा आफ्नो पाेल्टामा पार्न सफल भए। 

१२ वर्ष पहिले मार्लोकाका डानिएल गुइजाले ३० भन्दा कम गोल गरेर गोल्डेन बुट जितेका थिए।

मेसीले कुल सातपटक ला लिगामा सर्वाधिक गोलकर्ताले पाउने पिचिचि अवार्ड जितेर तेल्मो जाराले ६ पटक जितेर बनाएको कीर्तिमान तोडेका हुन्।

मेसीले सन् २००९–१० को सिजनमा ३४ गाेल गरेका थिए। त्यसपछि उच्च लयमा आएका उनले २०११–१२ को सिजनमा ५० गाेल गरे।

यता २०१२–१३ को सिजनमा पनि उनकाे दबदबा कायमै रह्याे। उनी उक्त सिजन ४६ गर्न सफल भए। 

यता २०१६–१७ को सिजनमा उनले खेल केही खस्कियाे। उनले त्याे सिजन मात्रै ३७ गाेल गरे। त्यसपछि उनी खराव नतिजातिर उन्मुख भए २०१७–१८ को सिजनमा ३४ र २०१८–१९ को सिजनमा ३६ गोल गरे।

गोल्डेन बुट जिते पनि मेसीलाई ला लिगा जित्न नपाएको पीडा छ। यो सिजन ला लिगाको उपाधि रियल मड्रिडले जित्याे। 

उपाधि विजेता मड्रिडले यो सिजन लिगमा ८७ अंक बनायो। दोस्रो स्थानमा रहेको बार्सिलोना पाँच अंकले पछि रह्यो। बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोडेकाे छ। 

मेसीले खेलपछि गोल्डेन बुटबारे सोधिएको प्रश्नको जवाफमा भनेका छन्, ‘पिचिचि अवार्ड ? मेरा लागि यो भन्दा पनि ला लिगाको उपाधि प्रमुख प्राथमिक्ता थियो। गएको वर्षजस्तै ला लिगा जित्न पाएको भए म धेरै खुशी हुने थिएँ।’

 

बार्सिलोनाले अर्को महिना नेपोलिबिरुद्धको च्याम्पियन्स लिग अभियान पुनः सुरु गर्दै छ। उक्त खेलमा मेसीले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्ने आशा गरिएकाे छ।

प्रकाशित मिति: : 2020-07-20 08:13:54

प्रतिकृया दिनुहोस्