७७ वर्षीय रञ्जीत भन्छन्, सिलसिलामा परवीन बाबीलाई हटाएर जया बच्चनलाई भूमिका दिइयो

एजेन्सी

मुम्बई

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा सुरु भएको नातावाद र कृपावादको बहसमा चर्चित खलनायक रञ्जीत पनि मैदानमा उत्रिएका छन्। 

७७ वर्षीय रञ्जीतले इन्डियन एक्सप्रेससँग कुराकानी गर्ने क्रममा भने, ‘परिवारवाद पहिले थियो तर प्रतिस्पर्दा सहितको। मलाई अझैं याद आउँछ, परवीन बाबीलाई सिलसिला फिल्ममा अभिनय गराउनु पर्ने थियो तर निर्मातालाई जया बच्चनले यो रोल धेरै राम्रो गर्न सक्छिन् जस्तो लाग्यो र उनले परवीन बाबीलाई हटाएर जयालाई अभिनय गराए।’

उनले भारतीय सिनेमाको उत्कृष्ट फिल्म शोलेमा गब्बर सिंहको सबैभन्दा पहिलो अफर डेनीलाई आएको तर, अधिक व्यस्तताका कारण उनले गर्न नमानेपछि आफूलाई रोलको लागि अफर आएको बताए। ‘डेनी मेरो राम्रो साथी थियो। त्यसैले मैले उनको ठाउँमा काम गर्न मानिन। यसपछि रोल अरु कहाँ गयो। यस्तो भइरहन्छ। म कुनै समूहमा थिइन। सबैसँग राम्रो मेलमिलाप थियो। मलाई सबैसँग उत्तिकै प्रेम थियो,’ उनले भने।

उनले आफ्नो जमानामा कलाकारबीच निकै प्रेम रहेको बताए। उनले भने, ‘सुटिङपछि प्रायः सबै कलाकार मेरो घर आउने गर्थे। धर्मेन्द्र, जितेन्द्र, राजेश खन्ना होस् वा अन्य कलाकार मेरो घर नआएका कोही छैनन्। हामी सँगै बसेर खानपीन गथ्र्यो। ब्याडमिन्टन खेल्थ्यौं। कुरा गथ्र्यो।’

उनले सुटिङको बेला पनि रिना रोयले पराठा बनाउने गरेको र मौसमी चटर्जीले माछा पकाउने गरेको पुरानो कुरा सुनाए। ‘हामी सेटमा एकअर्कासँग सिनको विषयमा चर्चा गथ्र्यो। त्यति बेला लेखकको निकै ठूलो महत्व थियो। अहिले म यी सबै कुरा मिस गर्छु,’ उनले भने। 

उनले आफ्नो छोरा चिरञ्जीव पनि बलिउडमा संघर्षरत रहेको बताए।

प्रकाशित मिति: : 2020-07-21 11:35:10

प्रतिकृया दिनुहोस्