कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले अस्ट्रेलियामा आयोजना हुन लागेको टि–२० विश्व कप प्रतियोगिता स्थगित गरेको छ। टि–२० स्थगित भएपनि इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० को आयोजना हुने निश्चित भएको छ।
यस विषयमा पाकिस्तानका तीब्र बलर सोएब अख्तरले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) माथि गम्भीर आरोप लगाएका छन्। उनले आइपीएल आयोजना गर्न बीसीसीआईले टि–२० विश्व कप स्थगित गर्न दबाव दिएको आरोप लगाएका छन्।
उनले यो वर्ष एशिया कप आयोजना गर्न सकिने अवस्था भएपनि बीसीसीआईकै कारण नगरिएको आरोप लगाए।
उनले जियो क्रिकेटसँग भने, ‘एशिया कप वास्तवमा ह’न सक्थ्यो। भारत र पाकिस्तानले एकअर्कासँग खेल्नका लागि राम्रो मौका हुन्थ्यो। यो नहुनुको कारण थुप्रै हुन सक्छ। म यता जान चाहन्न।’
उनले टि–२० विश्व कप पनि हुन सक्ने तर त्यो नहुनुको कारण आफूले पहिले पनि उल्लेख गरेको बताए। ‘आइपीएललाई घाटामा जान नदिन यस्तो गरिएको हो,’ उनको आरोप थियो।
टि–२० विश्व कप यसपालि १८ अक्टुबरदेखि १५ नोभेम्बरसम्म हुनुपर्ने थियो। तर, कोभिड–१९ का कारण स्थगित गर्ने निर्णय गरियो। एसीसीले पनि यसै महिना सुरु हुने एशिया कप स्थगित गर्ने निर्णय गर्यो।