सचिव नवीनकुमार र दीपक विष्टसहित १२ जना तेक्वान्दो संघबाट विदाइ

नेपाल तेक्वान्दो संघले केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहेका १२ पदाधिकारी र सदस्यहरुलाई विदाइ गरेको छ।

संघले सोमबार सातदोबाटो ललितपुरस्थित संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संघका सचिव नवीनकुमार श्रेष्ठ, प्रवक्ता दीपक विष्टसहित पदाधिकारीलाई विदाइ गरेको हो।

नयाँ ऐनले राष्ट्रिय खेलकुद परिषदका बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनै पनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ। जसको कारण उनीहरुले संघबाट राजीनामा दिएका थिए।

राजीनामा बुझाउनेमा सचिव श्रेष्ठ, सचिव तथा प्रवक्ता विष्ट र सह-कोषाध्यक्ष सुमनकुमार घले रहेका छन्।

यस्तै सदस्यहरु टिकाप्रसाद लिम्बु, संगीना बैद्य, नोर्बु सलामा, हेमन्त डाँगी, श्रीमान थापा मगर, पूर्ण योन्जन, कविराज खड्की, हिराबहादुर थापा र मिन न्यौपाने रहेका छन्।

उनीहरुले राजीनामा दिएको राजीनामा स्वीकृत गर्दै संघले पदाधिकारीको विदाइ गरेको जनाएको छ।

प्रकाशित मिति: : 2020-07-27 17:52:56

प्रतिकृया दिनुहोस्