जाजरकोटमा विषालु च्याउको तरकारी खाँदा मंगलबार एकै घरका चारजनाको मृत्यु भएको छ।
कुशे गाउँपालिका १ स्याँक्रीकी एकै घरका थप तीन बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेडिकल विभाग प्रमुख डा. केएन पौडेलले जानकारी दिए। एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको थियाे।
ढिलोगरी अस्पताल ल्याएकोले च्याउको विषले धेरै असर गरिसकेको हुँदा बचाउन नसकिएको उनको भनाइ छ।
यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए।
बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको डा. पौडेलले जानकारी दिए। टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने यसअघि सोमबार गाउँमै मृत्यु भएको थियो।
विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार नै सुर्खेत पुर्याएको थियो।
बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए।
घरमुली टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललिते र ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको छ।