वीरगञ्जमा बुधबारमात्रै दुई कोरोना संक्रमितको मृत्यु {अपडेट}

वीरगञ्जमा बुधबार छुट्टाछुट्टै अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ ७० वर्षीय र नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारार्थ ६८ वर्षीय वृद्धको मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। 

मेडिकल कलेजमा बिहान करिब ३ बजेको समयमा मृत्यु भएका ७० वर्षीय वृद्धको साँझ नारायणी अस्पतलाको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए। 

चिकित्सकका अनुसार वीरगन्ज महानगरपालिका–६ माइस्थान निवासी ती वृद्ध मिर्गौला र दमका बिरामी थिए। उनको छातीमा पानीसमेत जमेको थियो।

यसैगरी गण्डक अस्पतालको आइसोलेसनमा उपचाररत ६८ वर्षीय पुरुषको बुधबार बिहान पौने ११ बजेतिर मृत्यु भएको छ।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका ५ रेशकोठी निवासी हुन्। 

सुपरिटेन्डेन्ट डा. उपाध्यायका अनुसार मुटुमा समस्या देखिएपछि उनी पछिल्लो ६ दिनदेखि गण्डकको आइसोलेसनमा उपचाररत थिए।

उनका अनुसार वीरगञ्जकाे एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो।

कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको थियाे।
  
उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ। 

पर्सामा हालसम्म एक भारतीयसहित ८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-07-29 20:07:20

प्रतिकृया दिनुहोस्