मन्त्रीज्यू प्राविधिक शिक्षा पढ्ने लाखौं विद्यार्थीतर्फ तपाईंको नजर कहिले पर्छ?

माननीय शिक्षा मन्त्रीज्यू, नमस्कार

म कुशल छु कसरी भनुँ तर तपाईंको कुशलताको कामना गर्दछु। आज म तपाईंलाई सम्बोधन गर्दै केही लेख्न अनुमति चाहन्छु। तपाईंलाई मेरा शब्दहरु तिता लाग्न सक्छन्। क्षमा माग्दै विषयवस्तुतर्फ प्रवेश गर्न चाहन्छु।

मन्त्रीज्यू, म एक सिटिइभिटी अन्तर्गतको नेपालगन्ज (बाँके) स्थित कैपाल हस्पिटल एण्ड कलेजमा एचए दोस्रो वर्ष अध्ययनरत विद्यार्थी हुँ। यो पत्र म जस्ता सिटिइभिटी अन्तर्गत प्राविधिक शिक्षा पढ्ने लाखौंको संख्यामा रहेका विद्यार्थीको प्रतिनिधि पत्र हो।

विगत ४ महिनादेखि कोभिड-१९ को कारण भएको बन्दाबन्दीले गर्दा अवरूद्ध हाम्रो पढाईंको विषयमा तपाईंले खासै केही बोल्नुभएको समाचारमा आएको छैन। तपाईंको नजर एसइई दिने र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुमा मात्र परेको देखियो। के कोभिड-१९ को जोखिम उनीहरूलाई मात्र हो र? प्राविधिक शिक्षा पढ्ने लाखौं विद्यार्थीतर्फ तपाईंको नजर नपरेको देख्दा हाम्रो मन दुःखेको छ।

यतिबेला हामी सबै विद्यार्थी मानसिक तनावमा छौं। देशको दूरदराज र सहरका केही भागबाट सबै जात, धर्म, वर्ग, समुदाय, पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी भर्ना र पठनपाठन गरिँदै आएको र छोटो समयमा प्राविधिक जनशक्ति उत्पादन गरी देशको समग्र स्थितिमा टेवा पुग्ने उद्देश्यले लामो समयदेखि सञ्चालन हुँदै आएका सिटिइभिटीका कक्षाहरु ४ महिनादेखि ठप्प छन्। समयमै केही ठोस निर्णय लिन नसक्नु र दीर्घकालीन योजनामा चुक्नु जस्ता कारणले गर्दा लाखौं विद्यार्थीको भविष्य खतरामा छ।

पछिल्लो समयमा आएर अनलाइन पढाउनु भनी वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरिएको तपाईंको निर्णयले प्रश्नचिह्न खडा भएको छ। देशका दुर्गम क्षेत्रबाट ऋणधन गरी सदरमुकाम वा सहरसम्म पढ्नको लागि आएका विद्यार्थीहरु यतिबेला सबै आ-आफ्नो घर फर्किएका छन्।

हाम्रो देश नेपालमा कतिपय दुर्गम जिल्लाहरुमा  मोबाइलको नेटवर्कको लागि रूख चड्नुपर्ने, अग्लो अग्लो डाँडा पुग्नुपर्ने हाम्रो देशमा अनलाइन कक्षा कसरी प्रभावकारी होला? डाटा किन्ने, वाइफाई जोड्नेका त कुरै छोडौं। जस्तै-:मेरो घर कर्णाली प्रदेश जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिका वडा न. ८ मा पर्छ। जुन सदरमुकामबाट झण्डै ८ किलोमिटर पश्चिम तिर पर्छ त्यहाँ मोबाईलको नेटवर्क पनि आउँदैन, विद्युत पनि छैन म त एक उदाहरण मात्र हो। यस्ता कैयौं विद्यार्थी छन्, मन्त्रीज्यू  विद्युत भएको ठाउँमा पनि त्यसैमाथि यतिबेला हावाहुरी र वर्षाको कारण समय समयमा हुने विद्युत कटानको समस्याले थप चुनौती दिएको छ। सतप्रतिशत विद्यार्थीको उपस्थिति बिना सहरका सिमित विद्यार्थी केन्द्रित अनलाइन कक्षा सञ्चालन के न्यायोचित होला र मन्त्री ज्यू?

अघिल्लो वर्ष सञ्चालन गरिएका धेरै परीक्षाहरुको नतिजा करिब एक वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन। यस विषयमा पनि तपाईं र सिटिइभिटीका पदाधिकारीहरु समेत कानमा तेल हालेर बसेका छन्। कोभिड-१९ को समस्यालाई प्रमुख कारण बनाएर तपाईंहरु जिम्मेवारीबाट उम्कन पाउनुहुन्न। हरेक समस्याको समाधान खोज्न सकिन्छ।

हाम्रो सिटिइभिटी अन्तरर्गत डिप्लोमा तहका कोर्षको पढाई राम्रोसँग नभएकोले र प्राक्टिकल, ओ.जे.टिलाई मध्यनजर गर्दै परीक्षाको तालिका तयार पारियोस्। लकडाउन खुल्ला भएता पनि कोरोना सामान्य अवस्थामा नआएकोले मन खुल्ला भएको छैन।

छोटो दूरीका गाडीहरु चले पनि लामो दूरीका गाडीहरूले डबल भाडा लिइरहेका छन्। लामो दुरिका गाडीहरु पनि त्यति  राम्रोसँग चलेको पाइदैनन्। अधिकांश विद्यार्थीहरु पहाडमै छन्। जबसम्म लामो दूरीका गाडीहरू चल्दैनन्, तबसम्म उनीहरु आफ्नो स्कुल, कलेज, क्याम्पस तथा आफ्नो कोठामा समेत आउन सक्ने सम्भावना छैन्।

यस्तो अवस्थामा पनि सिटिइभिटीले स्थगित गरिएका परिक्षाहरु भदौको दोस्रो साताबाट सुरु गर्ने निर्णय गरिसकेको छ। सबै विद्यार्थीलाई केन्द्र बनाएर  सिटिइभिटीका पदाधिकारिहरु र मन्त्रीको सर- सल्लाहमा सूचना निकालियोस्। लाखौं विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैको छैन। यो विषयमा छिटोभन्दा छिटो सिटिइभिटीका पदाधिकारिहरुको सकारात्मक ध्यान जाओस्।

मन्त्रीज्यू, अन्त्यमा हालसम्म सिटिइभिटीका पदाधिकारीबाट पनि कुनै समस्या समाधानको कुरा, छलफल, बहसका कुरा सुन्नमा आएका छैनन्। कोरोना भाइरस पुन: संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रीज्यू र सिटिइभिटी पदाधिकारीबीच छिटो छलफल होस् र लाखौं विद्यार्थीको भविष्यको बारेमा छिटोभन्दा छिटो सकारात्मक निर्णय होस्। यही आशा व्यक्त गर्छु र हरेक समस्याको समाधानलाई आन्दोलन रोज्नुपर्ने स्थिति नबनाउनु हुन म र म जस्ता लाखौं विद्यार्थीको तर्फबाट विनम्र अनुरोध गर्दै बिदा चाहन्छु।

धन्यवाद।

दान बहादुर रोकाया
कैपाल हस्पिटल एण्ड कलेज नेपालगन्ज (बाँके)
एचए दोस्रो वर्ष अध्यनरत

प्रकाशित मिति: : 2020-07-30 07:33:00

प्रतिकृया दिनुहोस्