वीरगञ्जमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु, तीन डाक्टरसहित थपिए ४६ संक्रमित

वीरगञ्जमा गएराति थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

मृतकहरु वीरगञ्ज १६ नगवा निवासी ३५ वर्षीय पुरुष र छपकैया निवासी ६५ वर्षीय पुरुष रहेकाे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार अस्थायी कोभिड गण्डक अस्पतालमा संक्रमित भई उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका नगवा ३५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको हाे।

३५ वर्ष पुरुषलाई ५ गतेदेखि ज्वरोको लक्षण देखिएको थियो। एक सातादेखि ज्वरो आएपछि उनको स्थानिय क्लिनिकमा उपचार गरिएको थियो। 

तर ठीक नभएपछि उनलाई त्यहाँबाट तराई अस्पताल पाठइएकाे थियाे। त्यहाँबाट पनि उनलाई नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा रेफर गरिएकाे थियाे। उनको साउन १५ गते साँझ साढे ७ तिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

उनको शव अहिले कोभिड अस्पतालको आकस्मिक कक्षमै राखिएको छ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका ३ छपकैया निवासी ६५ वर्षिय अवकाश प्राप्त नेपाल सरकारका एक कर्मचारीको बिहीबार बिहान आफ्नै घरमा निधन भएको डा. मदन उपाध्यायले बताए। 

उनी केही दिनदेखि बिरामी हुँदा घरमै औषधि खाइरहेको थिए।ज्वरो,रुघा,खोकी र स्वासप्रश्वास सम्बन्धि समस्याले ग्रसित उनको घरमा नै मृत्यु भएको र उनको मृत्यु भएपछि प्रहरीले अस्पतालमा खबर गरेको थियो। मृत्युपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।  

हाल उनको शव नारायणी अस्पतालको शव गृहमा राखिएको डा. उपाध्यायले बताएका छन्।

पछिल्लो पटक वीरगञ्जमा दुई संक्रमितको मृत्यु भएसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।

यसअघि बिहीबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा पर्साका दुई जनाको मृत्यु भएको जानकारी दिएको थियो। 

तीन डाक्टरसहित ४६ जनामा कोरोना पुष्टि

वीरगञ्जमा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ वर्षदेखि ७५ वर्ष उमेर समुहका संक्रमितहरु रहेका छन्।

पर्सा, बारा, रौतहटका बासिन्दा भएतापनि सबै वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्छन्। 

संक्रमितहरुमा नारायणी अस्प्तालका दुई जना अर्थोपेडिक डाक्टर र एक जना बाहिरका डाक्टर गरी तीन जना डाक्टर पोजेटिभ देखिएका छन्। 

नारायणीका ४४ र ४० वर्षको पुरुष अर्थोपेडिक डाक्टर र वीरगञ्जकै एक जना ३६ वर्षीय डाक्टर पनि संक्रमित हुन पुगेका छन्। 

त्यसैगरी,नारायणी र एडभान्स हस्पिटलका६ जना स्टाफ नर्सहरु संक्रमित भएका छन्। 

वीरगञ्जको विभिन्न वडामा गरिएको मास ट्रेसिगमा पनि सर्वसधरण कोरोना संक्रमण पुष्टि भएको  नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले बताए।

नारायणीको मेडिकल वार्डमा खटिने ४० वर्षकी स्टाफ नर्स,आइसियु कक्षामा खटिने २० र २४ वर्षका स्टाफ नर्समा कोरोना पुष्टि भएको छ भने नारायणी अस्पतालमै डायायलोसिस गराउने पर्सा पोखरीया १ की ७५ वर्षीया महिला,बारा,निजगढका  ६५ वर्षिय पुरुष र बारा जितपुरका २४ वर्षीया महिला मृगौला रोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी,बाराको नितनपुरमा रहेको म्याग्नस फर्मा प्रालि (औषधी उद्योग)मा कार्यरत तीन मजदुर र लोटस फर्मा वीरगञ्ज २ छपकैयाका एक जना गरी कुल ४ जना मजदुरहरुमा पनि कोरोना पुष्टि भएको छ। 

म्यागनसका मजदुरहरुमा रौतहट, राजपुर ५ घर भएका ३७  वर्षका पुरुष, पर्सा, बहुदरमाई नगरपालिका ४ नगरदाहाका ४४ वर्षीय पुरुष र वीरगञ्ज १२ मुर्लीकी २६ वर्षीया महिला मजदुरमा कोरोना पुष्टि भएको छ।

यता लोटस फर्माका वीरगञ्ज ५ रेशमकोठी बस्ने ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी,वीरगञ्ज १४ का ६५ वर्षीय पुरुष, वीरगञ्ज ११ का ४१ वर्षीय पुरुष, वीरगञ्ज १४ कै ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल ल्याबले जनाएको छ। वीरगञ्जका अन्य वडाका संक्रमितहरु पनि रहेका छन्।

प्रकाशित मिति: : 2020-07-31 06:36:12

प्रतिकृया दिनुहोस्