टिप्पणी

चतुर ओली : भ्रष्टाचारीकाे अनुहार नहेर्ने तर काँधमा बोकेर हिँड्ने !

सुदिप बराल

काठमाडौं

कुनै समय थियो, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उखान, टुक्का र चिप्ला गफमा दुनियाँ लठ्ठ हुन्थ्यो । उखान टुक्का सुन्न र हाँस्नकै लागि भए पनि उनको कार्यक्रममा विपक्षी दलका कार्यकर्ताहरुको समेत उपस्थिति रहने गर्दथ्यो

उनीसँग चोटिला उखान टुक्काद्वारा विपक्षीलाई कडा प्रहार गर्ने र चिल्ला र हँस्यौली कुरा गरेर जनतालाई हँसाउदै मन्त्रमुग्ध पार्न सक्ने कला छ। तर, अब उनको यस्तो कला बिक्न छाडेको छ। कुनै बेला चर्चामा रहेको एमाले अहिले ‘ओली कम्पनी’मा परिणत भएपछि उसका गतिबिधिहरुबारे धेरैले चासो नै राख्न छाडेका छन्।

राजनीतिक खिचातानीका बिच सरकारको नेतृत्व गर्ने मौका पाएका ओलीको पहिलो कार्यकालमा नेपालले साढे चार महिना लामो भारतीय नाकाबन्दी झेल्नुपर्यो। नाकाबन्दीको समयमा भारतीय हस्तक्षेपको खुलेर विरोध गर्दै राष्ट्रवादको पक्षमा अडिग रहेका ओलीले जनताको मन जित्न सफल भए।

उनको राष्ट्रवादको पक्षमा अडान र उखान टुक्कामा मन्त्रमुग्ध भएर जनताले उनलाई राज्य सञ्चालनको तालाचाबीसमेत सुम्पिएका थिए। तर, जब उनी सरकारको नेतृत्वमा पुगे उनले अराजकता प्रदर्शन सुरु गरे।

आफू पदमा रहँदा ओलीले बारम्बार रुखो र छुद्र टिप्पणी गर्ने, आलोचनासँग डराएर आलोचना दबाउन राज्य संयन्त्रको दुरुपयोग गर्ने, मिडिया स्वतन्त्रता कुण्ठित गर्ने प्रयास स्वरुप मिडिया काउन्सिल विधेयक, व्यापारीको पक्षपोषणमा निर्णयहरु, यती होल्डिङ प्रकरण, वाइडबडी प्रकरण जस्ता प्रकरणको साक्षीसमेत भए।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न र भ्रष्टाचारीको अनुहार समेत हेर्दिन’ भन्ने सस्तो नारा दिएर आफ्ना आसेपासेको भ्रष्टाचारमा मौनता मात्रै साँधेनन्, काँधमै बोकेर हिडेँ।

उनी त्यतीमा मात्र सिमित रहेनन्। कोरोना कालमा बजेटको दुरुपयोग मात्रै गरेनन् बजेट खर्चको हिसाब पारदर्शी गरेनन्। उनमा दुई तिहाइको दम्भ बढ्दै गयो। सरकारका गतल कामको खबरदारी गर्ने जनतालाई समेत विपक्षी देख्न थाले र दमनको नीति अपनाउँदै गए।

हुँदा हुँदा उनको अराजकताले चरम सीमा नाघ्दै गयो। उनको अराजकतामा सचेत गराउन खोज्ने आफ्नै सहकर्मीहरुलाई समेत निषेधको नीति लिए। पार्टीमा ओलीभक्ति गाउनेले मात्र स्थान पाउन थाले। सिद्धान्तका कुरा गर्नेहरु पाखा लाग्दै गए।

ओलीको अत्याचारले सीमा नाघ्न थालेपछि एमालेमा लामो समय सहकार्य गरेका सहकर्मीहरु पार्टी छाड्न बाध्य भए। एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल ओलीको अत्याचार सहन नसकी एमालेको ठुलो समूह लिएर हिँडे।

एमालेको नवौं महाधिवेशनमा आफूसँग मात्र ४४ मतले हारेका नेपालले दसौं महाधिवेशनमा आफूलाई विस्थापित गर्नसक्ने भय ओलीमा थियो। प्रतिनिधि सभा बिघटनपछि आफ्नो साख गिरेको र नवौं महाधिवेशनमा नेपालसँग झिनो मत अन्तरले अध्यक्षमा विजयी भएका ओलीले नेपालको चुनौती थेग्न नसक्ने देखेर पार्टीबाटै निष्कासित गरे।

आगामी संसदीय निर्वाचनका लागि उनले प्रतिनिधि सभा विघटन गर्ने कदमको विपक्षमा उभिएका नेताहरुलाई अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै आत्मालोचना गरेपछि मात्रै टिकट दिने नीति लिँदै भीम रावल लगायत नेताहरुको संसदीय राजनीतिमा पाँच वर्षका लागि पूर्णविराम लगाइदिए।

ओलीको मनपरि त्यतिमा रोकिएन चितवन– ३ बाट उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी आफू खुसी फिर्ता गराउँदै कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने गर्ने निर्णय गरे। प्रभावशाली नेता घनश्याम भुसालले त पार्टी नै परित्याग गर्दै प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही– १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए। त्यस्तै टिकटमा ओलीको उपेक्षामा परेकी एमाले केन्द्रीय सदस्य गंगा चौधरीले दाङ– १ मा हम्राे नेपाली पार्टीबाट उमेदवारी दिइन्।

एमालेमा फरक मत राख्ने नेताहरु लगातार बहिर्गमनमा पर्न थालेपछि एमालेको अधोगति झनझन बढ्दै गएको छ।

पार्टी छाड्न नसकेका फरक मत राख्ने दस भाइ नेताहरु मध्येका केही नेताहरु ओलीको चेपुवामा पर्दै जाँदा अहिले भूमिकाविहीन भएर बसेका छन्।

महाकाली सन्धिमा राष्ट्रघात गरेको आरोप लाग्ने गरेका उनै ओलीले राष्ट्रवादको कृतिम नारा दिएर तीन वर्ष एकलौटी सरकार चलाउन भ्याए। भारतको विरोध गरेर सत्तामा पुगेका ओली सत्तामा पुगेपछि भारतप्रति नतमस्तक भए। उनको यस्तो ढुलमुले प्रवृत्तिले देशको कुटनीति कमजोर भएको विश्लेषणहरु पनि आइरहेका छन्।

एमसीसी काण्डले पनि ओलीको राष्ट्रवादलाई उदाङ्गो पारिदिएको छ। नेता भीम रावलले त आफूले एमसीसीको विरोध गर्दा र विपक्षमा भोट हाल्दा ओलीको तारो बन्नुपरेको र अहिले टिकटबाट वञ्चित हुनुपरेको भन्दै आक्रोशसमेत पोखेका छन्। उनले ओलीको कृतिम राष्ट्रवादको भण्डाफोर समेत गर्दै आएका छन्।

ओलीले आफूलाई चुनौती दिने नेताहरुलाई किनारा लगाएर एमालेलाई ओली गुट बनाएका छन्। अहिले उनी शक्तिशाली एमालेलाई छिन्नभिन्न पारेर ओली गुटको साख जोगाउने आशमा राजावादी र संविधान विरोधी पार्टीहरुसँग तालमेल गर्नुपर्ने अवस्थामा पुगेका छन।

मकवानपुरमा पटक–पटक कमल थापालाई हराएका आफ्ना नेता कृष्ण दाहालदाई टिकटबाट वञ्चित गराएर ओलीले उनै कमल थापालाई मकवानपुर– १ को जिम्मा दिएका छन्।

ओलीले एमालेमा रहेर लामो समय पार्टीलाई योगदान गरेका आफ्ना नेताहरुलाई साइड लगाएर आयातितहरुलाई चुनाव चिन्ह बाँड्दै एमालेलाई निरन्तर पतनको बाटोमा धकेल्दै गइरहेका छन्।

प्रकाशित मिति: : 2022-10-21 21:55:00

प्रतिकृया दिनुहोस्